नयाँ आर्थिक वर्ष लागेसँगै नेप्सेमा उछाल

नयाँ आर्थिक वर्ष लागेसँगै नेप्सेमा उछाल


काठमाडाैँ ।

नयाँ आर्थिक वर्ष सुरु भएकै दिन धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले  वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४७.०७ अंकले उकालो लागेर २ हजार १४४.१६ मा पुगेको हो ।

यस्तै ठुला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.९५ अंकले उकालो लागेर ४०४.१० पुगेको छ । कारोबार भएका १३ उपसमूहमध्ये आज १२ उपसमूहको सेयर मूल्य वृद्धि भएको छ भने १ उपसमूहको सेयर मूल्य भने ओरालो लागेको छ ।

कूल ७६ लाख ३४ हजार १९० कित्ता सेयर २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँमा कारोबार भएको छ । जानकारहरूका अनुसार बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउनु तथा नयाँ आर्थिक वर्षको प्रभाव स्वरूप बजारमा सकारात्मक प्रभाव परेकाे हो ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १४ करोड ८६ लाख १९ हजार ४५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

यस्तै हिमालयन लाइफ इन्स्योरेन्स १० करोड ८४ लाख ६४ हजार ८९९,साइन रेसुंगा डेभलपमेन्ट बैंक ७ करोड ७५ लाख १३ हजार ६७२,सोल्टी होटल ७ करोड ७३ लाख ३२ हजार २४८ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ करोड ११ लाख ७६ हजार १६३ रुपैयाँ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार बिपिडब्ल्यू लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । अभियान लघुवित्त ९.८७, सिर्जनशील लघुवित्त ७.८० र मल्टिप्रर्पोज लघुवित्तका लगानीकर्ताले ७.३२ प्रतिशतले कमाएका छन् ।

यस्तै कुमारी धनवृद्धि योजना ८.३७, सानीमा ग्रोथ फन्ड ७.५१, सानीमा लार्ज क्याप फन्ड ६.२८, बैंक अफ काठमान्डूको ऋणपत्र ५.८६ र मेगा म्युचुअल फन्डका लगानीकर्ताले ४.६३ प्रतिशतले गुमाएका छन् ।