मेची भन्सारकाे राजस्व संकलन निराशाजनक

मेची भन्सारकाे राजस्व संकलन निराशाजनक


झापा ।

मेची भन्सार कार्यालयबाट हुने आम्दानीमा निरन्तर गिरावट आइरहेकाे छ । लगातार पछिल्ला ३ वर्षमा यहाँबाट हुने राजस्व संकलन निराशाजनक रूपले घटेकाे हाे ।

मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको तुलनामा ६९ दशमलव ४१ प्रतिशत राजस्व असुली गरेको जनाएको छ ।

प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीका अनुसार उक्त आवमा १४ अर्ब ४ करोड ७५ लाख ३९ हजार राजस्व असुली भएको छ । उनका अनुसार भन्सारले गत आवमा २० अर्ब २४ करोड १८ लाख ३३ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

पेट्रोलियम पदार्थको आयात कम भएको, सुपारीलगायत तेस्रो मुलुकबाट ठुलो परिमाणमा आउने वस्तुको आयात ठप्प रहेकाले राजस्व संकलनमा असर परेको रेग्मीको भनाइ थियो ।

कोरोना महामारीपछिका ३ वर्षमा मेची भन्सार कार्यालयमार्फत् हुने राजस्व संकलनमा लगातार ह्रास आइरहेको उनले बताए ।

मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा १७ अर्ब ५३ करोड १९ लाख २८ हजार र आर्थिक वर्ष २०७७/७८ मा १८ अर्ब ६९ करोड ९२ लाख ६४ हजार राजस्व असुली गरेको प्रमुख भन्सार अधिकृत रेग्मीले जानकारी दिए ।

आव २०७८/७९ को तुलनामा आव २०७९/८० मा ३ अर्ब ४८ करोड ४३ लाख ८९ हजार राजस्व कम संकलन भएको छ ।

पूर्वीनाका काँकडभिट्टामा रहेको मेची भन्सार कार्यालय भुटान र बंगलादेशसहित उत्तरी भारतको पश्चिम बंगाल, सिक्किम र आसामसम्म हुने व्यापारको राजस्व संकलन गर्ने निकाय हो । तेस्रो मुलुकसँगको व्यापारसमेत यही नाकाबाट हुने गर्छ ।