‘विद्युत् प्राधिकरणले बूढीगण्डकी बनाउन सक्दैन, छुट्टै प्राधिकरण चाहिन्छ’

‘विद्युत् प्राधिकरणले बूढीगण्डकी बनाउन सक्दैन, छुट्टै प्राधिकरण चाहिन्छ’


काठमाडाैँ ।

बूढीगण्डकी आयोजना प्रभावितहरूले आयोजना निर्माण हुने सुनिश्चिततासहित अधिकार सम्पन्न प्राधिकरण बनाउन माग गरेका छन् ।

आयोजना प्रभावितका २ वटा सरोकारवाला समूहले आज एक प्रेस विज्ञप्तिमार्फत् स्थानीयबासीको जायज माग सम्बोधन गर्न, जग्गा प्राप्ति प्रक्रिया पूरा गर्न र डुबान क्षेत्रका बासिन्दाको पुनर्वास गर्नुपर्नेमा जोड दिएका छन् ।

यस्तै, आयोजना प्रभावित बजार क्षेत्रका व्यवसायको संरक्षण गरी उचित व्यवस्थापन गर्न र तत्काल लगानीको ढाँचा टुंगाे लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समिति गोरखाका संयोजक हरेराम ढकाल र बूढीगण्डकी जलाशययुक्त आयोजना सरोकार समिति आरुघाट शिवालनगर गोरखा धादिङका तर्फबाट दिनेशकुमार ढकालले ध्यानाकर्षण गराए ।

उनीहरूले आज सार्वजनिक गरेकाे प्रेस विज्ञप्तिमा आयोजना निर्माणका लागि अधिकार सम्पन्न प्राधिकरण आवश्यक रहेको उल्लेख छ । नेपाल विद्युत् प्राधिकरण मातहतको कम्पनीले सो आयोजना निर्माण गर्न सक्नेमा सरोकारवाला समितिहरूले आशंका व्यक्त गरेका छन् ।

व्यवस्थित सहरीकरण, पर्यटन विकास र वातावारण तथा जैविक विविधता संरक्षणको समग्र काम गर्ने गरी नेपाल विद्युत् प्राधिकरणभन्दा शक्तिशाली र अधिकार सम्पन्न बूढीगण्डकी विकास प्राधिकरण स्थापना गरिनुपर्ने उनीहरूको माग छ ।

सरकारले केही दिनभित्रै सो आयोजनाको कार्यालय स्थापना गरी शिलान्यास गर्ने तयारी गरेको छ ।