अध्यक्ष कुट्ने गाउँपालिका उपाध्यक्षलाई पक्रियाे प्रहरीले

अध्यक्ष कुट्ने गाउँपालिका उपाध्यक्षलाई पक्रियाे प्रहरीले


जुम्ला ।

जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढामाथि कार्यकक्षमै हातपात गरेको आरोपमा उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपाध्यक्ष भण्डारी आफैँ पालिकाबाट जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् । उपाध्यक्ष भण्डारीमाथि अध्यक्षको कार्यकक्षमा प्रवेश गरेर हातपात गरेको आरोप छ ।

गाउँपालिका प्रवक्ता अर्जुन महताराका अनुसार उपाध्यक्ष भण्डारीले अध्यक्ष बुढालाई थप्पड र चप्पल प्रहार गरेकी थिइन् ।

गाउँपालिका अध्यक्ष बुढाले जिल्ला प्रहरी कार्यालय जुम्लामा जाहेरी दिएको गाउँपालिका प्रवक्ता महताराले जानकारी दिए ।

कार्यालय समय सकिएकाले आइतबार जाहेरी दर्ता हुन सकेको थिएन । सोमबार बिदा परेकाले मंगलबार कार्यालय खुल्नेबित्तिकै जाहेरी दर्ता हुने जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले बताए ।

अध्यक्ष बुढाले बजेट निर्माणदेखि पालिकामा भइरहेका काम कारबाही चित्त नबुझे छलफलका माध्यमबाट समाधान गर्न सकिने पर्याप्त सम्भावना हुँदाहुँदै उपाध्यक्ष भण्डारीले आफूमाथि हातपात गरेको बताए ।

उपाध्यक्ष भण्डारीले भने अध्यक्ष बुढाले मनपरी बजेट विनियोजन गरेको र आफ्नो अधिकार खोसेको बताइन् ।

कार्यपालिकाको बैठकले उक्त घटनाप्रति दुःख व्यक्त गरेको छ । गाउँपालिकाको बजेट पनि आइतबार नै अनुमोदन भइसकेको छ ।

घटनाबारे उपाध्यक्ष भण्डारीसँग सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीले जानकारी दिए ।