अवशेषका आधारमा पुनर्निर्माण गरिँदै नरनारायण मन्दिर

अवशेषका आधारमा पुनर्निर्माण गरिँदै नरनारायण मन्दिर


ललितपुर ।

पाटन दरबार क्षेत्रको पूर्वतिर स्थित नरनारायण मन्दिरको पुनःनिर्माण सुरु गरिएको छ ।

अवशेष मात्र बाँकी रहेको सो मन्दिर शिलालेखअनुसार नेपाल संवत् ७३५ मा निर्माण भएको पाइन्छ । ललितपुर महानगरपालिकाको वडा-६ मा पर्ने सुन्धारा क्षेत्रलाई नेवार समुदायको भाषामा नुगः भनेर चिनिन्छ । यस क्षेत्र आसपास सयौँ वर्ष पहिले अस्तित्वमा रहेर भत्किएका सम्पदाको अवशेष अहिले पनि छन् ।

नुगः तदर्थ समितिका संयोजक राजीव श्रेष्ठले पुनःनिर्माण सुरु भएको नरनारायण मन्दिरलाई अवशेषका आधारमा निर्माण गर्न थालेको जानकारी दिए ।

उनले भने, ‘सुन्धारा क्षेत्रमा ६ वटा पुरात्वातिक सम्पदाका अवशेष बाँकी छन् । यी सम्भवतः १९९० सालको भूकम्पले भत्काएको हुनुपर्छ । ती अवशेषलाई पुनर्निर्माण गर्न सरकारले चासो नदेखाउँदा सम्पदाको जग्गा अतिक्रमण गरेर घर बन्दै छन् ।’

नरनारायण मन्दिरको अवशेष अध्ययन गरी नक्सापास गर्दा मन्दिरको गहिराइ ८ फिट रहेको हुँदा मन्दिरको उचाइ ३२ फिट अग्लो हुनेछ । मन्दिर पुनर्निर्माण गर्नका लागि पुरातत्व विभागमा गएर आफूले प्राविधिक सहयोग मागेको तर पुरातत्व विभागले सहयोग नगरेको नुगः तदर्थ समितिका संयोजक राजीव श्रेष्ठले दुःखेसो पोखे ।

मन्दिर पुनःनिर्माण गर्नलाई नक्सा तयार गर्न मात्र करिब ११ महिना लागेको उनको भनाइ छ । २०७४ को स्थानीय निर्वाचनबाट वडा सदस्यमा निर्वाचित श्रेष्ठ अवशेष मात्र बाँकी रहेका पुरात्वातिक सम्पदालाई पुनर्निर्माण गर्न र जगेर्ना गर्न रुचि भएकाले ललितपुर महानगरको आर्थिक सहयोगमा पुनर्निर्माणमा जुटेको बताए ।

पुनर्निर्माण सुरु भएको पुरातात्विक सम्पदा नरनारायण मन्दिरको छेउमा प्वास्याः फल्चा (पाटी) घर भूकम्प गएको ८ वर्षपछि पुनर्निमार्णको अन्तिम चरणमा छ । नेवार समुदायको परम्परागत घरको झल्को दिने गरी पुनर्निर्माण भएको प्वास्याः फल्चा (पाटी)लाई २०७२ को भूकम्पले क्षति पुर्‍याएको थियो ।

नेवारी भाषामा प्वास्याः फल्चा (पाटी) घरमा विशेष गरी नेवारी समुदायको विभिन्न सार्वजनिक कार्यक्रम हुने गर्छ । प्वास्याः फल्चा (पाटी) घरलाई ज्येष्ठ नागरिक र बालबालिका भेला हुने थलोका रूपमा पनि लिने गरिन्छ । भूकम्पले क्षति पुर्‍याएको उक्त सम्पदा पुनःनिर्माण गर्न २ वर्ष लाग्यो ।

पाटनको सुन्धारा परिसरमा धेरै ऐतिहासिक सम्पदाको अवशेष रहेको तर यी सम्पदाहरूको पुनर्निर्माण‌मा चासो कसैले नदेखाएको ७० वर्षीय स्थानीय राधेश्याम प्रजापतिले गुनासो गरे । सरकारले ऐतिहासिक सम्पदाको संरक्षण र पुनर्निर्माणमा चासो नदेखाउँदा सार्वजनिक जग्गा अतिक्रमण भएको उनको भनाइ छ ।