अब हिउँदमा पनि हराभरा हुनेछ महादेवटारकाे ५०० राेपनी बाँझाे जग्गा

अब हिउँदमा पनि हराभरा हुनेछ महादेवटारकाे ५०० राेपनी बाँझाे जग्गा


गाेरखा ।

गोरखाको भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित महादेवटार फाँटमा हिउँदे सिँचाइका लागि पानी संकलन गर्न पोखरी निर्माण गरिएको छ ।

सुख्खायाममा बाँझो जमिनमा सिँचाइ सुविधा पुर्‍याउन पोखरी निर्माण गरिएको वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिए । करिब ५०० रोपनी बाँझो जमिनमा सिँचाइ सुविधा पुग्ने गरी पोखरी निर्माण गरिएको उनले बताए ।

बूढीगण्डकी नदीको पानी तानेर पोखरीमा जम्मा गर्ने र हिउँदमा महादेवटार फाँटमा हिउँदे तरकारी बालीमा सिँचाइको सुविधा पुर्‍याइने वडाध्यक्ष श्रेष्ठको भनाइ छ ।

महादेवटार लिफ्ट सिँचाइ योजनाअन्तर्गत गण्डकी प्रदेश सरकारमार्फत पोखरी निर्माणका लागि बजेट प्राप्त भएको उनले बताए ।

‘महादेवटार ठुलो टार हो, सिँचाइ अभावका कारण हिउँदयाममा जमिन त्यत्तिकै बाँझो राख्नुपर्ने बाध्यता यहाँका किसानको छ । तरकारी खेतीका लागि मात्र भने पनि मोटर लगाएर नदीबाट पानी तानेर सिँचाइ गर्ने गरी पोखरी निर्माण गरिएको हो’, वडाध्यक्ष श्रेष्ठले भने ।

पोखरी निर्माण सम्पन्न भएपछि महादेवटारका करिब २०० घरपरिवारले करेसाबारीमा हिउँदे सिँचाइ सुविधा प्राप्त गर्ने स्थानीयबासी रामकुमार दरैले जानकारी दिए ।

‘नदीमा मोटर जडान गरी फलामको पाइपमार्फत् पोखरीसम्म पानी तान्ने व्यवस्था गरिएको छ’, उनले भने, ‘यो योजनाबाट यहाँका स्थानीयले तरकारी खेती गरी पर्याप्त लाभ लिन सक्ने सक्नेछन् ।’

पोखरीमा जम्मा हुने पानीबाट महादेवटार क्षेत्रका करिब ५०० रोपनीभन्दा बढी जमिनमा हिउँदका बेलामा तरकारी खेतीमा सिँचाइ गर्न सकिने उनको भनाइ छ ।

‘लिफ्टमार्फत बूढीगण्डकीको पानी तानेर पोखरीमा पानी जम्मा गरी हिउँदमा तरकारी बालीमा सिँचाइ गर्ने योजनाअनुसार पोखरी निर्माण गरिएको हो’, उनले भने, ‘योजना सम्पन्न भए पनि कम्तीमा यहाँका स्थानीयबासीले आफ्ना लागि आफैँले तरकारी खेती गर्न पाउने भएपछि बाहिरबाट तरकारी आयात गर्नुपर्ने हाम्रो बाध्यता पनि हट्छ ।’

योजना सम्पन्न भए पनि आगामी हिँउददेखि महादेवटारका किसानले हिउँदे तरकारी बालीका लागि सिँचाइ सुविधा प्राप्त गर्ने स्थानीयबासी दरैले बताए । योजना सम्पन्न गर्न स्थानीयबासीले उपभोक्ता समितिमार्फत् पोखरी निर्माण गरिरहेको उनले जानकारी दिए ।