काठमाडाैँमा कहाँ कति तिर्नुपर्छ पार्किङ शुल्क ? अपांगता भएकालाई निःशुल्क

काठमाडाैँमा कहाँ कति तिर्नुपर्छ पार्किङ शुल्क ? अपांगता भएकालाई निःशुल्क

व्यावसायिक भवन र अस्पतालका सेवाग्राहीलाई निःशुल्क पार्किङ


काठमाडाैँ ।

काठमाडौ‍ँमा कतै बजार जाँदै हुनुहुन्छ भने गाडी बाइक कहाँ पार्किङ गर्ने ? कति पैसा तिर्ने भन्ने चासाे हुनु स्वाभाविक हाे । कुनै काम विशेषले बजार जाँदा हरेक ठाउँमा पार्किङ शुल्क तिर्दै आएका उपभाेक्तालाई अब भने सहज हुने भएकाे छ ।

काठमाडाैँ महानगरपालिकाले सवारीसाधन पार्किङ शुल्क निर्धारण गरेको छ । महानगरपालिकाकी उपमेयर सुनिता डंगोलका अनुसार २ पांग्रे सवारीसाधनको प्रतिघन्टा २५ रुपैयाँ र ४ पांग्रे सवारीसाधनको प्रतिघन्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको छ ।

२ पांग्रे सवारीसाधनले आधा घन्टाको पार्किङ शुल्क भने १५ रुपैयाँ मात्रै तिर्नुपर्ने हुन्छ । एक घन्टाको २५ रुपैयाँ र एक घन्टाभन्दा बढी थप हुँदै गयो भने हरेक १५ मिनेटमा ५/५ रुपैयाँ शुल्क थप गर्ने व्यवस्था छ ।

४ पांग्रे सवारीसाधनले भने आधा घन्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्ने हुन्छ । १ घन्टाभन्दा बढी समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ।

यता, महानगरपालिका क्षेत्रभित्रका व्यावसायिक भवन, अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाले आफ्ना सेवाग्राहीलाई भने निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनुपर्ने छ ।

महानगरको आर्थिक ऐन, २०८० ले बहुतले आवासीय वा व्यावसायिक भवनमा रहेका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारीसाधन पार्किङबापतको शुल्क संकलन गर्न निषेध गरेको छ ।

आमसेवाग्राहीको गुनासो सुनुवाइ गर्न र सवारीसाधनको पार्किङ शुल्कमा एकरूपता ल्याउन शुल्क निर्धारण गर्नु परेको उपमेयर डंगाेलले जानकारी दिइन् ।

महानगरका अनुसार  व्यावसायिक रूपमा सवारीसाधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुने व्यवस्था गरिएको छ । पार्किङ प्रयोजन देखाई नक्सा स्वीकृत गरेका भवनको पार्किङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेकाको हकमा भने महानगरपालिकाले कारबाही गर्ने जनाएको छ ।

महानगरपालिकाले अन्य सम्भावित क्षेत्र पहिचान गरेर पैदल मार्ग (फुटपाथ) बाहेक सवारी आवागमनमा अवरोध नहुने गरी नगर कार्यपालिकाले मापदण्ड तोकेर पार्किङ सुविधा उपलब्ध गराउन सक्ने ऐनमा व्यवस्था गरिएको छ । पार्किङ गराउँदा क्षेत्रगत आधारमा स्पष्ट रेखांकन गरेर प्रवेश र बहिर्गमन फरक फरक हुने गरी प्रविधि प्रयोग गरेर व्यवस्थापन गर्नुपर्नेछ ।

महानगरले भित्री तथा बाहिरी क्षेत्रमा सवारी पार्किङको शुल्क पनि तोकेको छ । नयाँसडक, धर्मपथ, कान्तिपथ, दरबारमार्गलगायत भित्री सहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क, भोटाहिटी, केशरमहल लैनचौरसम्म) काठमाडौँको मध्य भागका तोकिएका स्थानलाई क्षेत्र-१ मा राखिएको छ ।

यस क्षेत्रमा सवारीसाधन पार्किङ गरेबापत २ पांग्रेका लागि पहिलो आधा घन्टासम्म १५ र प्रतिघन्टा २५ रुपैयाँ तथा ४ पांग्रेका लागि पहिलो आधा घन्टासम्म ५० र प्रतिघन्टा ८० रुपैयाँ कायम गरिएको छ ।

सो स्थानबाहेकका महानगरपालिका क्षेत्रभित्रका अन्य ठाउँलाई क्षेत्र-२ मानिएको छ । यी क्षेत्रमा २ पांग्रे सवारीसाधन पार्किङ गरेबापत प्रतिघन्टा १५, चारपांग्रे ४० र ४ पांग्रेभन्दा ठुला सवारीका लागि प्रतिघन्टा सय रुपैयाँ कायम गरिएको छ ।

अपांगता भएका व्यक्तिले प्रयोग गर्ने सवारीसाधनलाई पार्किङ शुल्क लाग्ने छैन । यस्तै आपतकालीन सेवाका सवारीसाधन र महानगरपालिकाले तोकेका अन्य सवारीसाधनलाई निःशुल्क पार्किङको व्यवस्था हुने महानगरले जनाएको छ ।