आर्थिक मन्दीकाे असर : घट्दै छ नयाँ उद्योग खुल्ने दर

आर्थिक मन्दीकाे असर : घट्दै छ नयाँ उद्योग खुल्ने दर


नवलपरासी ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा नयाँ उद्योग खुल्ने दर उल्लेख्य रूपमा घटेको छ ।
पर्यटन तथा उद्योग कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ भन्दा गत आर्थिक वर्षमा नयाँ उद्योग, व्यवसाय खुल्ने दरमा करिब ५८ प्रतिशतले कमी आएको छ ।
पर्यटन तथा उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा आर्थिक वर्ष २०७८/७९  १ हजार ५० नयाँ उद्योग दर्ता भएका  थिए । तर गत आर्थिक वर्षमा भने जम्मा ४३८ नयाँ उद्योग दर्ता भएको पर्यटन तथा उद्योग कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका प्रमुख सागर खनालले बताए ।
गत वर्ष थपिएका नयाँ उद्योगमा कृषि तथा वन वातावरण, पर्यटन र सेवामूलक उद्योग धेरै छन् । गत वर्ष आर्थिक वर्षमा नयाँ उद्योग दर्तामा कमी आउनु प्रमुख कारण देशको पछिल्लो आर्थिक अवस्थाको असर भएको कार्यालय प्रमुख खनालले बताए ।
नयाँ उद्योग दर्ता र सञ्चालनका लागि आर्थिक प्रभावको अवस्था प्रतिकूल हुँदै गएकाले यस्तो अवस्था आएको हुन सक्ने उनले बताए ।
‘पछिल्लो समय आर्थिक अवस्था त्यति अनुकुल छैन्, यसले गर्दा पनि नयाँ उद्योग दर्तामा कमी आएको हुनसक्छ । औद्योगिक उत्पादनले बजार नपाउने समस्याका कारणसमेत नयाँ उद्योग स्थापनामा त्यति उत्साही भएका देखिँदैनन्,’ खनालले भभने । नयाँ उद्योग दर्तासहित पुराना खारेजी गर्ने क्रमसमेत बढेको उनको भनाइ छ ।
गत आर्थिक वर्षमा ७५ पुराना उद्योग खारेजी भएका थिए । आर्थिक वर्ष २०७८/७९ मा ६४ र आव २०७७/७८ मा ४५ उद्योग खोजी भएका थिए । वाणिज्य व्यवसाय दर्तामासमेत गत आर्थिक वर्षमा धेरै कमी आएको छ ।
गत आर्थिक वर्षमा जम्मा ४८२ नयाँ वाणिज्य व्यवसाय दर्ता भएका छन् । आर्थिक वर्ष २०७८/७९ मा १ हजार १५८ नयाँ वाणिज्य व्यवसाय दर्ता भएको उद्योग तथा पर्यटन कार्यालय नवलपुरको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तथ्यांकअनुसार नवलपुरमा नयाँ थपिएका उद्योगसहित जम्मा उद्योगको सङ्ख्या ६ हजार ७४७ छ । वाणिज्यतर्फ भने ८ हजार ७९८ उद्योग छन् ।
आर्थिक मन्दिकै कारण उद्योगी व्यवसायी मारमा परेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष बैकुण्ठ अर्यालले बताए ।
उद्योग स्थापनासहित बजारीकरणको समस्या, लगानीका लागि उचित वातावरण नहुँदा यस क्षेत्रमा निराशा छाउन थालेको उनको भनाइ छ । पछिल्लो पटक बैंकको चर्को ब्याजदरका कारणसमेत उद्योग लगानी र उद्योग सञ्चालनमा समस्यामा परेकाले जिल्लामा नयाँ उद्योग दर्तामा कमी आएको अर्याल बताउँछन् ।