विद्यालय छुट्टी भएकाे माैका पारी कम्प्युटर र ट्रली स्पिकर चोरी 

विद्यालय छुट्टी भएकाे माैका पारी कम्प्युटर र ट्रली स्पिकर चोरी 


लुम्बिनी ।

रुपन्देहीको ज्ञानकुञ्ज प्राथमिक विद्यालयमा चोरी भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका–२, भरथापुरस्थित सो विद्यालयबाट कम्प्युटर र ट्रली स्पिकर चोरी भएको हो ।

कक्षाकोठाको ताला फुटाएर ३ थान मोनिटर, ३ थान सिपियु र १ थान ट्रली स्पिकर चोरी भएको विद्यालयका प्रधानाध्यापक अखिलेशकुमार त्रिपाठीले बताए ।

अन्तराष्ट्रिय बौद्ध समाज र एक्चेन्ज हिमालयन च्यारिटीको सहयोगमा २ महिनाअघि ल्याई पठनपाठनमा प्रयोग गरिएका कम्प्युटर सेट चोरी भएको उनले बताए ।

विद्यालय व्यवस्थापन समितिका अनुसार करिब १ लाख रुपैयाँभन्दा बढीको कम्प्युटर सेट र १८ हजारको एक थान ट्रली स्पिकर गरी सवा लाख मूल्य बराबरको सामान चोरी भएको छ ।

असार १८ देखि साउन १७ गतेसम्म विद्यालय बन्द रहेको मौका छोपी दाताले दिएका ४ सेट कम्प्युटरमध्ये १ थान लैजान नसकेर विद्यालयको अर्को कक्षा कोठामा छाडी गएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश निषादले बताए ।

अध्यक्ष निषादले भने, ‘वर्षायाममा बाढीको त्रासले सबै कम्युटरलगायत महत्वपूर्ण सामानहरु ल्याई अलि उचाइमा रहेको एउटा कक्षाकोठामा राखेका थियौँ । बच्चाहरुलाई सिकाउन ल्याएको कम्प्युटर बाढीले त डुबाएन, तर चोरबाट बचाउन पनि सकिएन ।’

बन्द रहेको विद्यालयको ताला फुटाई कम्प्युटरलगायत सामान चोरी भएको घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लुम्बिनीले जनाएको छ ।