बसपार्क सञ्चालन भएको १६ वर्षपछि बन्याे टर्मिनल भवन

बसपार्क सञ्चालन भएको १६ वर्षपछि बन्याे टर्मिनल भवन


म्याग्दी ।

म्याग्दी सदरमुकाम बेनी बजारस्थित कालीपुल बसपार्कमा निर्माण भएको टर्मिनल भवन सञ्चालनमा आएको छ ।

बसपार्क सञ्चालन भएको १६ वर्षपछि निर्माण भएको टर्मिनल भवन आज बेनी नगरपालिकाका प्रमुख सुरत केसीले उद्घाटन गरे । बागलुङस्थित सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गरेको सो भवन नगरपालिकालाई हस्तान्तरण गरेपछि उद्घाटन गरिएको हो ।

टर्मिनल भवन बनाउन २०७८ पुसमा शुभ कन्ट्रक्सन र आयोजनाबीच २ करोड ८५ लाख ४५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।

नवनिर्मित भवनमा म्याग्दीबाट विभिन्न ठाउँमा छुट्ने यातायातका टिकट काउण्टर सञ्चालन गरिएको छ । २०६४ मा पर्वत र म्याग्दी जोड्ने कालीगण्डकी नदीमाथि पक्की मोटरेबल पुल निर्माण भएपछि कालीपुलमा बसपार्क सञ्चालन भएको थियो ।

बसपार्कमा निर्माण गरिएको एकतले भवनमा टिकट काउन्टर, शौचालय र यात्रु प्रतीक्षालय छन् । बसपार्कको भवन परिसरमा आरसिसी ढलान गरिएको छ ।

अपांगमैत्री भवनमा सुरक्षा निगरानीका लागि सिसि क्यामेरा जडान गरिएको छ । उद्घाटन समारोहमा प्रमुख केसीले एकै ठाउँबाट यात्रुले टिकट काट्न पाउँदा सुविधा हुने बताए ।

उनले कालीपुल बसपार्क क्षेत्र म्याग्दी र मुस्ताङको प्रवेशद्धार हुनाका साथै यो स्थल स्वच्छ र सफा भएकाले आउने पर्यटकलाई सकरात्मक सन्देश मिल्ने चर्चा गरे ।

नवनिर्मित भवनमा टिकट काउन्टरका लागि कोठा विभाजन र यात्रुलाई विश्राम गर्न फर्निचरको व्यवस्था गरिएको कालीपुल बसपार्क व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडा–८ का वडाध्यक्ष उत्तमकुमार कर्माचार्यले जानकारी दिए ।

उनका अनुसार बसपार्कलाई सफा र व्यवस्थित गराउन ७ जना कर्मचारी नियुक्त गरिएको र व्यवसायीहरूबाट न्यूनतम सरसफाइ र पार्किङ शुल्क लिने गरिएको छ।

बसपार्कबाट हुने आम्दानीलाई स्थानीय बाल मन्दिर माध्यमिक विद्यालय, नगरपालिका र बसपार्क व्यवस्थापनमा परिचालन खर्च गरिने जनाइएको छ ।

२०७४ सालमा नगरपालिकाले तयार पारेको बसपार्कको गुरुयोजनामा २१ करोड रुपैयाँ लागत अनुमान गरिएको थियो । गुरुयोजना अनुसार बसपार्कमा नगरपालिका, प्रदेश र संघीय सरकारको सहकार्यमा बसपार्क ढलान गर्ने, नाली निर्माण गर्नेलगायतका पूर्वाधार निर्माण भइरहेको छ ।