चट्याङले साेलारमा क्षति पुर्‍याउँदा ढुंग्रेका ३५ परिवार खानेपानीबाट वञ्चित

चट्याङले साेलारमा क्षति पुर्‍याउँदा ढुंग्रेका ३५ परिवार खानेपानीबाट वञ्चित


चितवन ।

चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित खानेपानी आयोजनाको सोलारमा चट्याङले क्षति पुर्‍याएपछि स्थानीयबासी खानेपानीको समस्यामा परेका छन् ।

चण्डीभञ्ज्याङमा सञ्चालित ढुंग्रे लिफ्टिङ खानेपानी आयोजनाको सोलारमा असार ८ गते परेको चट्याङले क्षति पुर्‍याएको थियो ।

क्षति पुर्‍याएको महिना दिन पुग्न लाग्दा पनि समयमै मर्मत गर्न नसक्दा खानेपानीको लागि स्थानीयले सास्ती बेहोर्नुपरेको हो । २ वर्षअघि सञ्चालनमा आएको उक्त खानेपानी आयोजनाको सोलार प्यानल र कन्ट्रोलरमा गत असार ८ गते परेको चट्याङले क्षति पुर्‍याएको ढुंग्रे–तुन्तेस खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष दिलकुमार गुरुङले जानकारी दिए ।

उनका अनुसार चट्याङले आयोजनाको मुख्य पम्पिङमै समस्या आएपछि ट्यांकमा पानी तान्न सकिएको छैन ।

‘खानेपानीको सोलारमा क्षति भएकाले पुरानै अवस्थामा करिब १ घन्टा लगाएर कुवाको पानी पिउनुपर्ने बाध्यतामा स्थानीय छन्,’ गुरुङले भने ।

उनका अनुसार उक्त आयोजनाबाट ढुंग्रेका करिब ३५ घरपरिवारका साथै राष्ट्रिय माध्यामिक विद्यालय ढुंग्रे र चण्डीभञ्ज्याङ स्वास्थ्य चौकीले खानेपानी प्रयोग गरिरहेका थिए । लामो समयदेखि नियमित खानेपानी आपूर्ति हुन नसक्दा स्थानीयसँगै विद्यालय र स्वास्थ्यचौकीलाई समेत अप्ठ्यारो परेको उनको भनाइ थियो ।

खानेपानीको अभावका कारण वर्षायाममा झरेको बलेनीको पानी संकलन गरी काम चलाउनु परेको राष्ट्रिय माध्यामिक विद्यालयका प्रध्यानाध्यापक विश्वनाथ गुरुङले बताए ।

‘पिउनका लागि हामी विद्यार्थीलाई स्थानीय कुवाबाट भरेर खानेपानी ल्याउन लगाएका छौँ भने शौचालयका लागि वर्षायाममा झरेको बलेनीको पानी संकलन गरी काम चलाइरहेका छौँ,’ उनले भने ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिल गुरुङले चट्याङले क्षति पुर्‍याएको सोलार प्यानल र कन्ट्रोलर मर्मतको लागि समितिसँग रकम नभएकाले वडा र पालिकालाई अनुरोध गरेको बताउँदै पालिकाले अहिलेसम्म सुनुवाइ नगरेको जानकारी दिए ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले स्थानीयको गुनासो आउने वित्तिकै तत्कालै प्राविधिक पठाएर चट्याङले क्षति पुर्‍याएको कन्ट्रोलर मर्मतका लागि काठमाडौँ पठाइएको बताए ।

मर्मत कम्पनीले समयमै मर्मत गरेर जडान नगरिदिएकाले नियमित खानेपानी वितरणमा ढिलाइ भएको उनको भनाइ थियो । ‘अब २/३ दिनभित्रैमा सामान ल्याएर जडान गरी पानी वितरणको तयारीमा छौँ,’ अध्यक्ष गुरुङले भने ।

वडा-६ का वडाध्यक्ष लक्ष्मण चेपाङले चट्याङले क्षति पुर्‍याएको स्थानमा विद्युत् पुगेकाले सोलार सिस्टम हटाई छिट्टै विद्युतीय सिस्टम जडान गरी खानेपानीको समस्याको दीर्घकालीन समाधान गरिने बताए ।

इच्छाकामना गाउँपालिकाको ‘एक घर एक धारा’ अवधारणाअन्तर्गत गाउँपालिकाको २५ लाख, जिल्ला समन्वय समिति चितवनको २५ लाख र बाग्मती प्रदेश सरकारको ५० लाख गरी १ करोड रुपैयाँ लागतमा साझेदारी सिरान ढुंग्रे, माझ ढुंग्रे र तुन्तेस गाउँका करिब ८० घरधुरीमा खानेपानी पुर्‍याउन २ वर्ष अघि उक्त खानेपानी आयोजना निर्माण गरिएको थियो ।

ढुंग्रे र तुन्तेसमा २० हजार लिटर क्षमताका छुट्टाछुट्टै ५ वटा ट्यांकी निर्माण गरिएको छ भने करिब ८० घरमा घरैपिच्छे एउटा धारा निर्माण गरिएको आयोजनाले जनाएको छ ।