लापरबाहीकाे हद : ४ वर्षमा पनि बनेन अढाई किलाेमिटर सडक

लापरबाहीकाे हद : ४ वर्षमा पनि बनेन अढाई किलाेमिटर सडक


कैलाली ।
कैलालीको चौकीडाँडा–ओलानी–फल्टुडे सडकअन्तर्गत कृष्णमन्दिर बान्द्रेखाल सडक सम्झौता भएको ४ वर्ष बितिसक्दा पनि निर्माणले गति लिन सकेको छैन ।
सुदूरपश्चिम प्रदेशको गौरवको योजनामा समावेश भएको उक्त सडक ठेकेदारको लापरबाहीका कारण निर्माण कार्यले गति लिन नसकेको हो ।
ठेकेदारको लापरबाहीका कारण सडक निर्माण कार्यले गति नलिँदा स्थानीयलाई आवागमनमा समस्या हुँदै आएको छ । ४ बर्ष बितिसक्दा पनि प्रदेशको गौरवको योजना निर्माणमा ढिलाइ भएपछि यातायातका साधन सञ्चालनमा कठिनाइ भइरहेको गोदावरी नगरपालिका–११ का वडाध्यक्ष प्रेमसिंह बडैलाले बताए ।
भौतिक पूर्वाधार विकास कार्यालय धनगढीले कृष्णमन्दिरदेखि गोदावरी–१० को वडा कार्यालयसम्म अढाइ किलोमिटर सडक निर्माणका लागि २०७७ भदौ १८ मा एड्भेन्चर गेगिङ सन्लाइट जेभीसँग ५ करोड ८४ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
सम्झौताअनुसार २०७८ माघ १७ गतेभित्र सडक निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म उक्त सडक निर्माण सम्पन्न हुन सकेको छैन । म्याद थप गरी उक्त सडक सम्पन्न गर्नुपर्ने समय सीमा असार मसान्तसम्म थियो ।
उक्त सडक निर्माणको काम सम्पन्न नभएकाले चौकीडाँडा–ओलानी–फल्टुडे सडकअन्तर्गत थप ३ किलोमिटर कालोपत्र गर्न ठेक्का सम्झौताको काम सुरु हुन नसकेको पूर्वाधार कार्यालय धनगढीले जनाएको छ ।
सो सडक निर्माणका लागि २०७९ चैत १८ मा तेडी निर्माण सेवासँग ५ करोड ७६ लाख भ्याटबाहेक ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार सडक निर्माणका लागि १८ महिना समय सीमा तोकिएको पूर्वाधार कार्यालय प्रमुख रामचन्द्र खत्रीले जानकारी दिए ।
लामो समयपछि चौकीडाँडा–ओलानी–फल्टुडे सडकको काम क्रमागत योजनाअन्तर्गत अघि बढेको भए पनि ठेकेदारको लापरबाहीका कारण सडकको कामले गति लिन नसकेपछि स्थानीय आक्रोशित भएका छन् ।
ठेक्का सझौता भएका सडक निर्माणले गति लिएपछि त्यस क्षेत्रका बासिन्दालाई यात्रा गर्न सहज हुने गोदावरी नरपालिका–१२ का वडाध्यक्ष भीमबहादुर खड्काले बताउनुभयो । सडक निर्माणमा लापरबाही गरेपछि स्थानीयले चौकिडाँडा–कोलमुडा सडक संघर्ष समिति गठन गरी दबाबका कार्यक्रम अघि बढाइएको उनको भनाइ थियो ।
गोदावरी नगरपालिकाको वडा-१०, ११ र १२ मा २० हजारभन्दा बढी मानिसको बसोबास छ । अत्तरियादेखि फल्टुडे पुग्ने भीमदत्त लोकमार्गभन्दा छोटो दुरीको अत्तरिया चौकीडाँडा–ओलानी–फल्टुडे सडक हो । यो सडक बनेपछि वैकल्पिक मार्गका रूपमा प्रयोगमा आउने प्रदेश सरकारले दाबी गरेको छ ।