अदालतकाे आदेशले पनि काम गरेन, काठमाडाैँकाे फोहोर फाल्न अवराेध कायमै

अदालतकाे आदेशले पनि काम गरेन, काठमाडाैँकाे फोहोर फाल्न अवराेध कायमै


काठमाडाैँ ।
विगतमा भएकाे सहमति कार्यान्वयन नहुँदासम्म नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनीबेँसी नगरपालिकाका स्थानीयबासीले  बञ्चरेडाँडामा फोहाेर फाल्न नदिने अडान लिएका छन् ।
१ वर्षअघि काठमाडौँ महानगरपालिका र प्रभावित क्षेत्रका स्थानीयबासीबीच भएको सहमति कार्यान्वयन नभएको भन्दै यही साउन १ गतेदेखि फोहोर व्यवस्थापनमा रोक लगाइएको हो । यो अवरोध माग पूरा नहुँदासम्म जारी रहने ककनी गाउँपालिकाका प्रमुख सुमन तामाङले जानकारी दिए ।
स्थानीयबासीको अवरोधकै कारण यसअघि पनि पटक-पटक रोकिएको काठमाडौँ उपत्यकाको फोहाेरको अन्तिम व्यवस्थापन आर्थिक वर्ष सुरु भएसँगै पुनः रोकिएको छ ।
नुवाकोटको ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाइँले यसअघि कामपासँग भएको सहमति पूरा नभएसम्म यस स्थानमा फोहोर व्यवस्थापन गर्न नदिने बताए ।
धुनीबेँसी नगरपालिका– १ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार सहमतिको १ वर्ष हुँदासम्म महानगरले स्थानीयबासीको माग पूरा गर्न चासो नदेखाएकाले सोमबारबाट फोहोर व्यवस्थापनमा रोक लगाइएको बताए ।
यता कामपाका पूर्वाधार सल्लाहकार सुनिल लम्सालले स्थानीयबासीकाे माग आसपासको ३ हजार रोपनी जग्गा अधिग्रहण गरिदिनुपर्‍यो भन्ने रहेको र कामपा एक्लैले उक्त काम गर्न नसक्ने बताए ।
विगत १५ वर्ष सिसडोलमा व्यवस्थापन हुँदै आएको उपत्यकोको फोहोर गत भदौ ७ देखि बञ्चरेडाँडामा व्यवस्थापन गर्न थालिएको हो ।
फोहोर व्यवस्थापनमा रोक लगाएपछि फोहोरमैला व्यवस्थापन संघले अदालतमा रिट दर्ता गरेको थियो । उक्त रिटमा सर्वोच्च अदालतले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश दिएको थियो ।
अदालतको आदेशको पनि अवज्ञा गर्दै विगत ३ दिनदेखि स्थानीयबासीले फोहोर व्यवस्थापनमा अवरोध गरिरहेका छन् । हाल काठमाडौँ उपत्यकाका १८ स्थानीय तहबाट दैनिक ३०० गाडी फोहोर उक्त स्थानमा लाने गरिएको छ ।