टिकट सस्तो भएपछि लुम्बिनी केबलकारमा पर्यटकको घुइँचो

टिकट सस्तो भएपछि लुम्बिनी केबलकारमा पर्यटकको घुइँचो


लुम्बिनी ।

टिकट दरमा ५० प्रतिशत छुट दिएर आधा सस्तो बनाएपछि लुम्बिनी केबलकार चढ्ने पर्यटकको संख्या बढेको छ ।

केबलकारले साउनको पहिलो बुधबारदेखि हरेक बुधबार बिहान ९ बजेदेखि १२ सम्म टिकट खरिदमा ५० प्रतिशत छुटसहित ‘मर्निङ अफर’ सुरु गरेसँगै पर्यटक बढेका हुन् ।

केबलकारको दुईतर्फी यात्राका लागि साधारण टिकट दर ७५० रुपैयाँ रहेकामा ‘मर्निङ अफर’ का लागि ३७५ रुपैयाँ मात्रकायम गरिएको छ । टिकट सस्तो भएको थाहा पाएपछि बुधबार बिहान ९ नबज्दैदेखि १२ बजेसम्म केबलकारमा सर्वसाधारणको उत्साहजनक उपस्थिति र चहलपहल बढेको थियो ।

यसअघि केबलकारमा प्रतिदिन औसतमा ५०० जना पर्यटक आउने गरेकामा ‘मर्निङ अफर’को पहिलो दिन ३ घन्टामै ९९६ जना पर्यटक आएकाे अपरेसन म्यानेजर डिएन कायस्थ सैजूले जानकारी दिए ।

सर्वसाधारणको मागलाई समेत मध्यनजर गरेर भदौ मसान्तसम्मका लागि यो अफर ल्याइएको सैंजूले बता‌ए ।

आइएमई ग्रुपको अगुवाइमा कुल ५ अर्ब लागतको लुम्बिनी प्रदेशकै पहिलो यो केबलकार गत जेठ १५ गतेदेखि व्यावसायिक सञ्चालनमा आएको थियो ।

यो अफरमा भारतीय नागरिकले समेत ३७५ भारु र तेस्रो मुलुकका विदेशी पर्यटकले ११ अमेरिकी डलरमा यात्रा गर्न पाउने प्रालिले जनाएको छ । यो अफरले आमसर्वसाधारणलाई निकै सस्तो शुल्कमा केबलकार यात्रा गर्ने अवसर दिएको बुटवलका विष्णु खत्रीले बताए । आर्थिक मन्दी र नागरिकको क्रयशक्ति कम भएको परिप्रेक्ष्यमा टिकट दर आधा सस्तो बनाउँदा सहज भएको उनले बताए ।

पाल्पाबाट आएका ५० वर्षीय नारायण अर्यालले टिकट दर आधा घटाएर अफर ल्याउनु राम्रो भएको तर बटम स्टेसनमा एक बोतल पानीको मूल्य ५० रुपैयाँ लिनु उचित नभएको सुझाव दिए ।

२.६ किलोमिटर दुरीको केबलकारको टप स्टेसन पाल्पाको वसन्तपुरमा बनेको कामख्या देवीको मन्दिर हिन्दु धर्मावलम्बीहरुका लागि विशिष्ट आकर्षण बनेको छ । कामख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न सहरबाट समेत उल्लेख्य मात्रामा पर्यटक आउने गरेको आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए ।

जेठ १५ देखि असार मसान्तसम्म केबलकारमा करिब ३० हजार पर्यटक आएकाे र ४० प्रतिशत भारतीय रहेका साउदले बताए ।

समुद्री सतहबाट ९६० मिटर उचाइमा रहेको वसन्तपुरमा तराईका ठाउँभन्दा ७ देखि १० डिग्री सेल्सियस कम तापक्रम हुने भएकाले गर्मी मौसममा शीतल र जाडोयाममा घाम लागेर न्यानो हुने भएकाले पर्यटककाे रोजाइको थलो बनेको छ ।

केबलकारले प्रत्येक टिकट शुल्कको २ प्रतिशत सेवा शुल्कबापत बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकाका लागि छुट्याइएको छ । उक्त रकम २ पालिकाले ५०–५० प्रतिशतका दरले बांँडफाँट गर्ने गरी सम्झौता भएको छ ।

टप स्टेसनमा २ वर्षभित्र १५० कोठा, १ हजार जनाक्षमताको बैंक्वेट हल, क्यासिनोहित पाँचतारे होटेल बनाउने तयारी छ ।