विकराल बन्दै लम्पी स्किन महामारी, रसुवामा मात्रै १५९ गाईबस्तु मरे

विकराल बन्दै लम्पी स्किन महामारी, रसुवामा मात्रै १५९ गाईबस्तु मरे


रसुवा ।

रसुवामा लम्पी स्किन रोगका कारण धमाधम पशु चौपाया मर्न थालेका छन् । पशु चौपाया मर्न थालेछि यहाँका किसान चिन्तित बनेका छन् । हालसम्म जिल्लामा लम्पी स्किनबाट १५९ पशुचौपाया मरेका छन् ।

जिल्लाका ५ वटै गाउँपालिकाका पशु चौपायामा लम्पी स्किन रोग फैलिएको छ । सबैभन्दा बढी क्षति गोसाइँकुण्ड गाउँपालिकामा भएको छ । उक्त गाउँपालिकाको स्याफ्रुबेँसीमा कार्यरत पशुसेवा प्राविधिक प्रमुख सुरेश बडालका अनुसार ६ वटा वडामा लम्पी स्किनबाट हालसम्म २१ चौरी, एउटा याक र ४१ स्थानीय जातका गाईगोरुको मृत्यु भएको छ ।

‘रोग नियन्त्रणको प्रयास भइरहेको छ, स्वास्थ्यको टोली वडा वडामा खटिएको छ’, उनले भने ।

गोसाइँकुण्डभित्र करिब ८०० पशु लम्पी स्किनबाट सङ्क्रमित छन् । लम्पी स्किनबाट सङ्क्रमित पशुचौपायालाई छुट्टै क्वारेन्टाइनमा राख्नुपर्ने आवश्यकता रहेको बडालको भनाइ छ । हिमाली क्षेत्रको खाली पाखामा पशु चौपाया छोड्ने चलनले रोग बढी फैलिएको उनी बताउँछन् ।

जिल्लाको नौकुण्ड, कालिका र उत्तरगया गाउँपालिकामा पनि लम्पी स्किन रोगबाट पशुचौपायामा क्षति भएको छ । आमा छोदिङ्मोबाहेक अन्य गाउँपालिकामा झन्डै १५ सय पशु चौपायाको उपचार भइरहेको सम्बन्धित गाउँपालिकाका प्राविधिकले जानकारी दिएका छन् ।

कालिका गाउँपालिकाका पशुसेवा शाखाका प्रमुख बुद्धिनाथ न्यौपानेले दक्षिणी रसुवाकाका पालिकका पशुचौपायामा लागेको लम्पी स्किन रोग नियन्त्रणका लागि प्राविधिक समूह खटिएको बताए । सङ्क्रमणका कारण अधिकांश गोरु बिरामी परेकाले किसानलाई धान रोपाइँ गर्न समस्या भएको छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, नुवाकोटका सूचना अधिकारी पशु चिकित्सक डा बब्लु थारुका अनुसार गत असार ३१ गतेसम्म नुवाकोट र रसुवामा गरी झन्डै १३ हजार गाई, गोरु, भैँसी र चौरी लम्पी स्किन रोगबाट सङ्क्रमित भएका छन् ।

‘रसुवाको हिमाली भेगमा लम्पी स्किनबाट चौरीसमेत मरेका खबर आएको छ,’ उनले भने, ‘रोगको अवस्थाबारे जानकारी लिन हाम्रो टोली त्यसतर्फ जाँदै छ ।’

तत्कालका लागि रोग फैलिएको ठाउँमा औषधि पठाएको डा थारुले बताए ।