१ क्विन्टल सुन प्रकरण : एजेन्टसहित ६ जना पक्राउ

१ क्विन्टल सुन प्रकरण : एजेन्टसहित ६ जना पक्राउ


काठमाडाैँ ।

राजस्व अनुसन्धान विभागले झन्डै सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ जना एजेन्ट छन् ।

विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ ।

पक्राउ परेकाको पहिचान खुलाइएको छैन । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो ।

विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल २ जना पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप ४ जना पक्राउ गरिएको ढुंगानाले बताए ।

सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । ‘तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ,’ उनले भने ।