काे-काे पक्राउ परे १ क्विन्टल सुन प्रकरणमा ?

काे-काे पक्राउ परे १ क्विन्टल सुन प्रकरणमा ?


काठमाडाैँ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भएको करिब १ क्विन्टल सुन ट्याक्सीबाट जफत भएपछि प्रहरीले ६ जनालाई पक्राउ गरेकाे छ ।

सुन ओसारपसारमा संलग्न रहेकाे आरोपमा दोलखा मेलुङ गाउँपालिका-३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ-३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका-४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ थाप्तेन छिरिङ पक्राउ परेका छन् । अन्य २ जनाको नाम खुलेको छैन ।

आयातकर्ता कम्पनी रेडी ट्रेडर्सले उक्त सुन मोटरसाइकल र स्कुटरको पार्टसमा हालेर कार्गो गरी ल्याएको बताइएको छ । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो ।

ठुलाे मात्राकाे सुन भन्सार जाँचपास भएर बाहिरिएपछि भन्सार विभागले छानबिन समिति बनाएको छ ।

विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन भएको विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।

समितिले विमानस्थलको भन्सार जाँचपासमा क-कसको संलग्नता थियाे भन्नेबारे छानबिन गर्नेछ । समितिले भन्सार अधिकृतलगायत अन्य कर्मचारीहरूको संलग्नताबारे पनि छानबिन गर्न लागेको हो।

एयरपोर्ट भन्सार गेटबाट सुन बोकेको बा. २ ज २३२४ नम्बरको ट्याक्सीलाई बुधबार साँझ ६ बजे नियन्त्रणमा लिइएको थियो ।

यसैबीच, बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । राजस्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो ।