काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवा, धादिङ र नुवाकोटका गाउँबस्तीमा स्थलगत अवलोकन तथा अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाको उपस्थितिमा शुक्रबार केन्द्रीय कार्यालय बीपी स्मृति भवन, ललितपुरमा बसेको बैठकले छठ पर्वलगत्तै तीनवटै जिल्लाका प्रभावित गाउँबस्तीमा पुगेर अवस्था बुझ्ने निर्णय गरेको हो ।
बैठकमा बाढीपहिरोबाट प्रभावित क्षेत्रको अवस्था, प्रभावित नागरिकको पुनःस्थापना, सार्वजनिक सेवा प्रवाह तथा पुनर्निर्माणको प्रगतिबारे पछिल्लो जानकारी लिइएको नेपाली कांग्रेसले जनाएको छ ।
बैठकले प्रभावित परिवारका लागि ‘न्यानो कपडा अभियान’ र ‘मानसिक स्वास्थ्य परामर्श अभियान’ सञ्चालन गर्ने निर्णयसमेत गरेको छ ।
प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडा र समस्याप्रति पार्टी संवेदनशील र प्रतिबद्ध रहेको जनाउँदै कांग्रेसले प्रभावितको जीवन सहज बनाउन, पुनःस्थापना सुनिश्चित गर्न र पुनर्निर्माणलाई गति दिन सरकारलाई निरन्तर खबरदारी गर्ने जनाएको छ ।

प्रतिक्रिया