आर्थिक मन्दीकाे असर : साना उद्याेगी पलायन बढ्दाे

आर्थिक मन्दीकाे असर : साना उद्याेगी पलायन बढ्दाे


वीरगन्ज ।

पर्सामा आर्थिक वर्ष २०७९/०८० मा नयाँ उद्योग दर्तामा कमी आएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आव २०७९/८० मा १ हजार ८९ नयाँ उद्योग दर्ता भएको छ । जबकि आव २०७८/८९ मा १४८० उद्योग दर्ता भएका थिए ।

आव २०७९/८० मा नयाँ उद्योग दर्तामा कमी आउँदा उद्योगको लगतकट्टा गराउनेको संख्या भने बढेको छ । सो कार्यालयका अनुसार आव २०७९/८० मा १७७ वटा उद्योगको लगतकट्टा गरिएको छ भने अघिल्लो आव २०७८/७९ मा एक सय ५२ उद्योगको लगतकट्टा भएको थियो ।

विश्वव्यापी रूपमा देखिएको आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट ऋण लगानी नहुनु, पुँजीको अभावलगायतका कारणले नयाँ उद्योग दर्तामा कमी आएको घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख धनञ्जयकुमार सिंहले बताए ।

आव २०७९/८० मा १२७५ उद्योगको नवीकरण, १६५ वटाको पुँजी वृद्धि, ३३ वटाको ठाउँसारी, ८४ वटाको नामसारी गरिएको सो कार्यालय जनाएको छ । ती शीर्षकबाट आव २०७९/८० मा १ करोड ६ लाख ३९ हजार २५० रुपैयाँ राजस्व संकलन भएको प्रमुख सिंहले जानकारी दिए ।

उक्त आवमा ६५४ पुरुष र ४५० महिला गरी १ हजार १०४ उद्यमी थपिएका छन् भने ३ हजार २४७ पुरुष र १ हजार २१३ महिला गरी ४ हजार ४६० जनाले रोजगारी पाएको प्रमुख सिंहको भनाइ छ । आव २०७९/८० मा उद्यमी सिर्जना तथा सीप विकास, स्केलअप र भगत सर्वजित तालिम कार्यक्रमअन्तर्गत ३६२ पुरुष र ९८ महिला गरी ४६० जनालाई सीपमूलक तालिम दिइएको प्रमुख सिंहले बताए ।

यससँगै पर्सा जिल्लामा पछिल्लो ६ वर्षको अवधिमा ७ हजार २ नयाँ उद्योग थपिएका छन् । गत आव २०७४/७५ देखि आव २०७९/८० सम्ममा सेवामूलक उद्योग, कृषि तथा वन्यजन्य, उत्पादन उद्योग र पर्यटन गरी ७ हजार २ नयाँ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय वीरगन्ज पर्साले जनाएको छ ।

गत आव २०७४/७५ देखि आव २०७९/८० सम्मको अवधिमा नयाँ उद्योग दर्ता, उद्योगको नवीरकण र उद्योगको लगतकट्टालगायत शीर्षकबाट ६ करोड ९७ लाख ९२ हजार ७८० रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख सिंहले बताए ।