अस्पताल निर्माणमा ठेकेदारकाे लापरबाही, अढाई वर्षमा सक्नुपर्ने काम ५ वर्षमा पनि सकिएन

अस्पताल निर्माणमा ठेकेदारकाे लापरबाही, अढाई वर्षमा सक्नुपर्ने काम ५ वर्षमा पनि सकिएन


कैलाली ।

सेती प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीको लापरबाहीका कारण अस्पताल भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भइरहेको हो ।

२०७४ कात्तिक २७ गते २१ करोड रुपैयाँ लागतमा दुई तले नवजात र मातृशिशु विस्तारित भवन निर्माण गर्न काठमाडौँको रविना थेगिम जेभीले अस्पतालसँग ठेक्का सम्झौता गरेको थियो । सम्झौताअनुसार ३० महिनामा निर्माण कार्य सम्पन्न गरी भवन सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गर्ने उल्लेख छ ।

सो भवन साढे २ वर्षमा सम्पन्न हुनुपर्नेमा ५ वर्ष बितिसक्दा पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण अधुरै रहेको अस्पतालले जनाएको छ ।

ठेक्का सम्झौता गरेको काठमाडौँको रविना थेगिम जेभीले ५ वर्षमा ८० प्रतिशतमात्र काम पूरा गरेको अस्पतालका सूचना अधिकारी सौरभ कलौनीलले जानकारी दिए ।

उनका अनुसार अस्पताल भवन निर्माणको काम अलपत्र पर्दा सेवा प्रवाहमा समस्या भइरहेको छ । धनगढीको मुख्य सडक विस्तारका क्रममा अस्पतालको ओेपिडी भवन भत्किएपछि भवनको अभाव भएको छ । अस्पतालले निर्माणाधीन अधुरो भवनका केही कोठाबाट ओपिडी सेवा सुरु गरेको छ ।

सो भवन निर्माणका लागि पाँचौँ पटकसम्म म्याद थप गरिएको अवधि गत २५ असारमा सकिएको छ । सहरी विकास संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीले सम्झौताअनुसार २०७७ वैशाख २७ मा भवन निर्माणको काम सम्पन्न हुनुपर्ने जनाएको छ । सो भवन निर्माण सम्पन्न गर्न अझै १५/२० प्रतिशत काम बाँकी छ ।

अस्पतालका सूचना अधिकारी कलौनीले अस्पतालमा झ्याल, ढोका लगाउने, टायल बिच्छ्याउने, रङरोगन गर्ने, शौचालय बनाउने, बिजुलीबत्ती जडान गर्नेलगायत ‘फिनिसिङ’का काम बाँकी रहेको बताए । भवन निर्माणका धेरै काम बाँकी हुँदा पनि निर्माण कम्पनीले काममा तदारुकता नदेखाएको उनको भनाइ छ ।

ठेकेदार कम्पनीले समयमै काम पूरा नगरे ठेक्का रकमको शून्य दशमलव शून्य ५ प्रतिशत दैनिक जरिमाना गरिनुका साथै ६ महिनामा काम पूरा नगरे ठेक्का तोडिने अस्पतालले चेतावनी दिएको अस्पताल विकास मितिका अध्यक्ष निर्मल शाहले बताए ।

भवन अभाव हुँदा अस्पतालले बाध्यतावश अधुरो भवनबाट ओपिडी सेवा सुरु गरेको अस्पतालका प्रवक्ता वरिष्ठ फिजिसियन चिकित्सक शेरबहादुर कमरले जानकारी दिए ।

भवन हस्तान्तरण नहुँदै सेवा सुरु गर्नुकाे कारण दुवै भवनमा ठाउँ अभाव रहेको उनले बताए । नयाँ भवनमा पानी, शौचालयलगायत आवश्यक सामग्रीकाे अभावका बीच मेडिकल र सर्जिकल वार्ड सञ्चालनको सेवा सञ्चालन भइरहेको जनाइएको छ ।

अस्पताल भवन हस्तान्तरण भइसकेपश्चात् आइसियू र डायलाइसिस वार्ड तथा एमआरआई मेसिन राख्न सकिने भए पनि अहिले भवन अधुरो हुँदा राख्न सक्ने अवस्था नभएको डाक्टर कमरले बताए ।

प्रदेशको रिफरल अस्पतालका रूपमा रहेको सेतीमा सुदूरपश्चिमका पहाडी जिल्लाबाट दैनिक सयौँ बिरामी उपचारका लागि आउने गरेका छन् । भवन अभावले सहज रूपमा उपचार प्रदान गर्न समस्या भइरहेको अस्तापलले जनाएको छ ।