मेचीनगरकाे सुन्दर नगर अभियान : अव्यवस्थित तार हटाउन निर्देशन

मेचीनगरकाे सुन्दर नगर अभियान : अव्यवस्थित तार हटाउन निर्देशन


झापा ।

मेचीनगर नगरपालिकाले सहर तथा ग्रामीण क्षेत्रका अव्यवस्थित तार हटाउन केबल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।

नगरपालिका प्रमुख गोपाल बुढाथोकीले केबल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीका प्रतिनिधिलाई बोलाएर बिहीबार उक्त निर्देशन दिइएको जानकारी दिए ।

काँकडभिट्टा, धुलाबारी, इँटाभट्टा, चाराली, धाइजन, बाहुनडाँगी, ज्यामिरगढी, दुहागढीलगायत स्थानका अव्यवस्थित तार व्यवस्थित गर्न निर्देशन दिइएको उनको भनाइ छ ।

‘सहर, बजार र सडकभरि जताततै केबल र इन्टरनेट कम्पनीका तार लत्रिएका छन्, यसले मानिस तथा सवारीको आवागमनमा बाधा पुगेको छ,’ उनले भने, ‘आफैँ जानेर व्यवस्थापन गर्नुपर्ने हो । लापरबाहीको हद भएपछि नगरपालिका ‘एक्सन’मा उत्रिनुपरेको हो ।’ तत्काल तार व्यवस्थित नगरिए नगर प्रहरी प्रयोग गर्ने उनको भनाइ छ ।

नेपाल टेलिकम काँकडभिट्टाका प्रमुख काजीमान विश्वकर्माले अनुमति र सम्झौता नगरी केबल तथा इन्टरनेट प्रदायक कम्पनीहरूले नेपाल टेलिकम तथा विद्युतकाे खम्बामा जथाभावी तार टाँगेर व्यवसाय सञ्चालन गरिरहेको आरोप लगाए ।

‘केही कम्पनीले सम्झौता मात्रै गरेका छन्, शुल्क बुझाएका छैनन्,’ उनले भने, ‘अधिकांश कम्पनीले आफूखुसी टेलिकम र विद्युत्को पोल प्रयोग गरिरहेका छन् । पटक–पटक पत्राचार गर्दा पनि सम्झौता र रोयल्टी तिर्न अटेर गरेका छन् ।’

मेचीनगर क्षेत्रमा नेपाल टेलिकम र नेपाल विद्युत् प्राधिकरणको खम्बा प्रयोग गरेबापत केबल तथा इन्टरनेट कम्पनीले वार्षिक १८ करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको उनको भनाइ छ ।

गुजुल्टिएका तथा लत्रिएका तारका कारण आगलागी हुने र सहरी सौन्दर्यसमेत बिग्रने हुनाले व्यवस्थित गर्न निर्देशन दिइएको नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले बताइन् ।