बुटवलमा बन्नेछ ७ तले ‘अटाेमेटिक’ पार्किङ भवन

बुटवलमा बन्नेछ ७ तले ‘अटाेमेटिक’ पार्किङ भवन


बुटवल ।

बुटवलमा बहुतले पार्किङ भवनका लागि बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच सम्झौता भएको छ ।

बुटवलमा बढ्दो सवारी चाप र पार्किङ व्यवस्थित गर्न बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच लगानीका लागि सोमबार सम्झौता भएको हो ।

पार्किङ भवन निर्माणका लागि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

पार्किङ भवन निर्माण योजनाका लागि ३० करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । पार्किङ भवन निर्माण भएपछि बुटवलको मुख्य बजार क्षेत्रको पार्किङ सोही भवनमा गरिने र मुख्य सडक क्षेत्रको पार्किङ हट्ने नगर प्रमुख पाण्डेयले बताए ।

‘बुटवलमा रहेको पार्किङको समस्या समाधानका लागि पार्किङ भवन निर्माण गर्न लागिएको हो,’ उनले भने, ‘यो पार्किङ भवन बनेपछि बुटवलका सडकमा गाडी पार्किङ गर्नुपर्ने बाध्यता हट्नेछ, यसले बुटवललाई अझै व्यवस्थित सहरका रूपमा स्थापित गर्न मद्दत गर्छ ।’

उनले पार्किङका लागि भवन बनेपछि घरबाहिरको सडकमा गाडी राख्नेहरूले निश्चित शुल्क तिरेर पार्किङ भवनमा गाडी राख्न सक्ने भएकाले मुख्य सडक र भित्री सडकमा हुने पार्किङ हट्ने बताए ।

बुटवल-९ लुम्बिनी बस टर्मिनल परिसरमा निर्माण हुने आधुनिक बहुतले पार्किङ भवन निर्माणका लागि ७० प्रतिशत लगानी नगर विकास कोषले गर्नेछ भने बाँकी ३० प्रतिशत बुटवल उपमहानगरपालिकाले लगानी गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए।

१५ असोज २०७९ मा पार्किङ भवन निर्माणका लागि परामर्शदाता कम्पनी मल्टिडेफोर्ट हार्मोनिक जेभीसँग सम्झौता भई प्रतिवेदन पेस गरेपछि लगानीका लागि नगर विकास कोषसँग सम्झौता गरिएको हो।

लगानीको टुंगो लागिसकेकाले अब बाँकी काम सुरु गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । बाँकी प्रक्रिया पूरा गरी निर्माणका लागि ठेक्का प्रक्रियामा जाने उनले बताए।

७ तले पार्किङ भवनमा एकसाथ करिब २०० हलुका सवारी पार्किङ गर्न सकिने बुटवल उपमहानगरपालिकाका योजना महाशाखाका निर्देशक सुमन श्रेष्ठले जानकारी दिए।

‘सबैभन्दा तल्लो तलामा गाडी लगेर छाडेपछि स्वचालित मेसिनले खाली भएको ठाउँमा गाडी लगेर राख्छ र गाडी लिन आएपछि कोडअनुसार पुन: गाडी तल्लो तलामा आउँछ,’ श्रेष्ठले भने, ‘आधुनिक प्रविधिको प्रयोग गरी गाडी पार्किङ गरिनेछ ।’