बाढीपहिराेका कारण जताततै सडक अवरुद्ध, सावधानी अपनाउन आग्रह

बाढीपहिराेका कारण जताततै सडक अवरुद्ध, सावधानी अपनाउन आग्रह


लुम्बिनी ।

रुपन्देहीसहित लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ ।

अविरल वर्षाका कारण पहिरो खस्दा पाल्पा, अर्घाखाँची, प्युठानलगायत जिल्लामा सडक अवरुद्ध भएका छन् । पहिरो खसेका कारण बुटवल-पाल्पा, गोरुसिंगे-सन्धिखर्क र भालुवाङ-प्युठान सडक अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत तिनाउ गाउँपालिका-३ हेडबक्स र झुम्सा नजिकै पहिरो खस्दा बुटवल-पाल्पा सडक बिहानैदेखि २ ठाउँमा अवरुद्ध छ ।

यस्तै अर्घाखाँचीको शीतगंगा-१२ बसेनी र सन्धिखर्कको डम्पिङसाइडमा पहिरो खस्दा गोरुसिंगे-सन्धिखर्क सडक २ ठाउँमा अवरुद्ध भएको छ ।

यस्तै प्युठानको माण्डवी-१ गर्जेनीमा पहिरो खस्दा भालुपाङ-प्युठान सडक अवरुद्ध भएको छ ।

रुपन्देही, पाल्पा, नवलपरासी, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रका बस्ती प्रभावित हुन सक्ने जोखिम बढेको जनाइएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज बिहान सार्वजनिक गरेको सूचनाअनुसार तिनाउ नदी बाढी मापन केन्द्र बुटवलमा जलसतह खतरा तहभन्दा निकै माथि पुगेको र यो क्रम बढ्दो छ । त्यसैले बाढीको उच्च जोखिम हुने स्थान तिनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानका बासिन्दालाई अपराह्नसम्म सुरक्षित स्थानमा रहन सूचना प्रवाह गरिएको छ ।

नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

बुटवल मजुवास्थित तिनाउ नदीको बीचमा आज बिहान दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मीनबहादुर गाहा र दानव नदीमा फसेका अर्का एक पुरूषलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा उद्धार गरिएको छ ।

तिनाउमा नदीको सतह बढेकाले दाउरा भेला पार्ने, माछा मार्ने वा खोला हेर्ने उद्देश्यले नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

उनले नदी किनारमा विपद्को टोली र नगर प्रहरी खटाएर सावधानी अपनाइएको बताए । नदी किनार क्षेत्रमा नगर प्रहरीले माइकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ ।

यस्तै जिल्लाको सैनामैना-८ रामापुरमा डुबानमा परेको स्थानीय शंकमुनि थारूको घर र सोही वडामा रहेको सतचिन्तन प्रतिष्ठानको भवन डुबानमा परेको छ । स्थानीय इनगुरिया नदीमा आएको बाढीले घर तथा प्रतिष्ठनको भवन डुबाएको हो ।

सैनामैना-८ का वडाध्यक्ष बुद्धिराम चौधरीको नेतृत्वमा इलाका प्रहरी कार्यालय सालझण्डीको प्रहरी टोली र स्थानीय संयुक्त रूपमा उद्धारमा जुटेका छन् । हालसम्म कुनै मानवीय क्षति नभएको स्थानीय नागरिक अगुवा लेखनाथ गैरेले जानकारी दिए ।

यसैगरी भारी वर्षाका कारण दाङका प्रमुख नदी राप्ती र बबईमा एक्कासि बाढी आउन सक्ने खतरा रहेको जनाउँदै सतर्क रहन अनुरोध गरिएको छ । जल तथा मौसम विज्ञान विभागले सार्वजनिक सूचना जारी गर्दै पछिल्लो समयमा भारी वर्षा भएका कारण राप्ती र बबई नदीलगायत अन्य खोलाको जलसतह बढ्न सक्ने भन्दै सतर्क रहन अपिल गरेको हो ।

दाङको बगासोगी, लालमटिया, घोराही, शुक्रबारे, भालुवाङ, लमही, रातामाटा र प्यूठानको विजुवार, मारीखोला, हंसपुर र आसपासका धेरै स्थानमा भारी वर्षा भएको जनाएको छ ।

दाङ र प्युठानका खहरे खोलामा समेत बाढी आउन सक्ने भएकाले दिउँसोसम्म सतर्क रहन आग्रह गरिएको हो ।

यसैबीच, पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड पनि अवरुद्ध भएको छ। यो खण्डको कालीखोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

इच्छाकामना गाउँपालिका–४ स्थित कालीखोलामा आज बिहान पहिरो खसेको थियो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडक खण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन्।

पहिरो पन्छाउने काम भइरहेको तर पानी परिरहेकाले समय लाग्ने बताइएको छ।