ओटिसी बजारमा ८४ कम्पनीका २ करोडभन्दा बढी कित्ता सेयर किनबेच

ओटिसी बजारमा ८४ कम्पनीका २ करोडभन्दा बढी कित्ता सेयर किनबेच


काठमाडाैँ ।

गत आर्थिक वर्ष २०७९/८० मा ओभर द काउन्टर (ओटिसी) बजारमा विभिन्न ८४ कम्पनीका २ करोड १२ लाख ६४ कित्ता सेयर कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जारी गरेको गत आर्थिक वर्षमा ओटिसी बजारमा भएको कारोबारको विरणअनुसार हालसम्म ओटिसी बजारमा कारोबारका लागि हालसम्म दर्ता भएका कम्पनीको संख्या २०६ छ ।

दर्ता भएका कम्पनीमध्ये गत आर्थिक वर्ष ८४ वटा कम्पनीको सेयर २ अर्ब ८५ करोड ८४ लाख १९ हजार ८८६ रुपैयाँ बराबरको कारोबार भएको हो ।

ओटिसी बजारमा भएको कारोबारबाट गत वर्ष ५ करोड २९ लाख ५५ हजार ९८० रुपैयाँ बराबरको पुँजीगत लाभकर प्राप्त भएको पनि नेप्सेले जनाएको छ । ओटिसी बजारमा काठमाडौँ फरेस्ट्री कलेजको सबैभन्दा धेरै प्रतिकित्ता १ हजार १२५ रुपैयाँमा २ हजार २२२ कित्ता सेयर खरिदबिक्री भएको छ ।

ओटिसी बजारमा सेयर कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०० का दरले किनबेच भएको देखिन्छ । नेपाल स्टक एक्सचेन्जले ओटिसी बजारको अवधारणा विकास गरी २०६४ सालदेखि सञ्चालनमा ल्याएको थियो ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकरण नभएका, सूचीकरण खारेज भएका तथा सूचीकरणका लागि आवश्यक सर्त पूरा गर्न नसकेका पब्लिक कम्पनीको सेयर कारोबार तथा नामसारी नेप्सेले ओटिसी बजारमार्फत् गर्दै आएको छ ।