मध्य बर्खामा काम गर्दा पहिराेले पुर्‍याे सिद्धबाबा सुरुङमार्गकाे प्रवेशद्वार

मध्य बर्खामा काम गर्दा पहिराेले पुर्‍याे सिद्धबाबा सुरुङमार्गकाे प्रवेशद्वार


बुटवल । अविरल वर्षाका कारण खसेकाे पहिराेले बुटवल–तानसेन सडकखण्डअन्तर्गत सिद्धबाबा सुरुङमार्गको रिब पुरिएकाे छ ।

अविरल वर्षापछि झरेको पहिरोले सिद्धबाबा सुरुङमार्गको सिद्धबाबा तर्फको रिब एंकरिङ पूर्ण रूपमा भत्काएको हो । हेडबक्स नजिकैको रिबमा भने कुनै क्षति पुगेको छैन ।

साे सुरुङ भर्खरै खन्न सुरु गरिएको थियाे । पहिरोका कारण सुरुङमार्गमा क्षति पुगेको परियोजनाले जनाएकाे छ । क्षतिकाे यकिन विवरण भने प्राप्त भएकाे छैन ।

सुरुङमाग निर्माणको ठेक्का पाएको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले हेड बक्सको रिबको ढलान गरेपछि सिद्धबाबा मन्दिर नजिकै प्रवेशद्वारमा रिबको काम थालेको थियो । त्यहाँ ३५ जना कामदारले काम गरिरहेका थिए ।

पहिरोले रिबमा पूर्ण रूपमा क्षति पुर्‍याएसंँगै सुरुङमार्गको काम रोकिएको छ । निर्माण कम्पनीले वर्षायाममा पनि काम जारी रहने भन्दै काम गरिरहेको अवस्थामा पहिरोले काममा अवराेध आएकाे  छ ।

चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङकाे ठेक्का पाएकाे थियाे ।

नेपाली प्राविधिकहरूले मध्य वर्षामा ढलान गर्न नहुने सुझाव दिए पनि कम्पनीले अटेर गर्दा याे क्षति भएकाे जानकारहरू बताउँछन् । ४ दिन पहिले मात्र प्रवेशद्वारको ढलान गरिको थियो ।

सिद्धबाबा सुरुङमार्ग योजना कार्यालयकी इन्जिनियर सविता ज्ञवालीका अनुसार ठेकेदार कम्पनीलाई वर्षा लागिसकेकाले पहिले नै काम नगर्न सचेत बनाए पनि नटेरेकाले क्षति भएको र त्यो क्षतिपूर्ति ठेकेदार आफैँले भर्नुपर्ने बताइन् । सुरुङमार्गको विस्तृत परियोजना नै नबनाई काम थालिएको थियो ।