ललितपुरमा मेलेम्ची खानेपानी अझै वितरण भएन, सेवाग्राहीको गुनासै गुनासो

ललितपुरमा मेलेम्ची खानेपानी अझै वितरण भएन, सेवाग्राहीको गुनासै गुनासो


ललितपुर ।

लतिपुरको विभिन्न क्षेत्रमा खानेपानी नपुग्दा सेवाग्राही समस्या लिएर काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको कार्यालय पुग्ने गरेका छन् ।

सेवाग्राहीको सङ्ख्या बढ्दै गए पनि पानीको स्रोत सीमित रहेकाले पानी पु¥याउन नसेको खानेपानी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार हाल ललितपुरमा ४९ हजार नौ सय ५३ धारा जडान गरिएका छन् । जसमध्ये २ हजार ३१८ धारामा पानी पठाउन नसकिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ललितपुरका कार्यालय प्रमुख कृष्णकुमार शाहले बताए ।

उनका अनुसार कार्यालयले हाल फर्पिङ सिस्टम(प्रणाली)बाट प्रतिदिन १ करोड ४० लाख लिटर पानी वितरण गरिरहेको छ भने चापागाउँ खानेपानी सिस्टमबाट १ करोड ५ लाख लिटर वितरण गर्दै आएको छ ।

महालक्ष्मी नगरपालिकाको वडा नं ३, ४, र ५ मा हाल पानी वितरण गर्न नसकिएको शाहले जानकारी दिए । उनका अनुसार धारामा निरन्तर पानी नपुगेपछि स्थानीयले नै खानेपानीको लाइन काटेका छन् ।

“सेवाग्राही धेरै भएकाले नियमित सेवा दिन सकिएको छैन । कतिपय धारामा बढीमा दुईदेखि तीन घण्टाका लागि नौ दिनपछि मात्र पानी जाने गरेको छ”, कार्यालय प्रमुख शाहले भने, “सेवाग्राही धारामा पानी आएन भनेर कार्यालयमा आउनुहुन्छ तर हामीले सेवाग्राहीलाई सेवा दिन सकिरहेका छैनौँ ।”

घर अगाडि धारा जडान भए पनि पानी नआएको स्थानीयले गुनासो गरेका छन् । पानी नआउँदा पनि महसुल तिर्नु परेको उनीहरु बताउँछन् । विसं २०७६ मा धारा जडान गरेर हालसम्म रू ५१ हजार ६०० सय महसुल तिरेको ललितपुर–१५ खुमलटारका कृष्ण दुलालले बताए । पानीको महसुल नियमित तिरे पनि हालसम्म धारामा पानी नआएको उनको भनाइ छ ।

ललितपुर–१५ फुलबारी मार्गका गोकुल परियारले छ दिनमा एकपटक राति १२ बजे पानी आउने गरेको गुनासो गरे । उनले भने, “पानी आउने दिन राति नुसुतेर बस्नुपर्ने हुन्छ । छ दिनमा एकपटक आएको पानीले पुग्दैन । खानेपानीको महसुल पनि तिर्नु परेको छ । ट्याङ्करको पानी किन्नु परेको छ ।”

ललितपुरमा मेलेम्चीको खानेपानी अझै वितरण नभएको प्रमुख शाहको भनाइ छ । मेलम्चीको पानी वितरण गर्न सके खानेपानीको समस्या समाधान हुने उनले बताए । उनका अनुसार अबको तीन महिनाभित्र जिल्लामा मेलम्चीको पानी वितरण गर्ने तयारी भइरहको छ ।