बसपार्कबाटै गाडी चलाउनुपर्ने बालेनको निर्णय किन टेरेनन् व्यवसायीले ?

बसपार्कबाटै गाडी चलाउनुपर्ने बालेनको निर्णय किन टेरेनन् व्यवसायीले ?

जडीबुटीमा बन्दै गरेकाे बसपार्ककाे काम राेकिने


काठमाडौँ ।

काठमाडौँबाट उपत्यकाबाहिर जाने गाडी नयाँ बसपार्कबाट मात्रै छुट्नुपर्ने महानगरका मेयर बालेन्द्र शाह (बालेन)को निणर्य कार्यान्वयन हुन सकेको छैन ।

असार १ गतेदेखि अनिवार्य बसपार्कबाट मात्रै छुट्नुपर्ने र रिङरोडभित्र कतै रोकेर यात्रु चढाउन नपाइने भने पनि रिङरोडमै गाडी रोकेर यात्रु चढाइरहेको देखिन्छ ।

काठमाडौँ महानगरपालिकाले गत जेठ १९ गते सूचना प्रकाशित गरी असार १ गतेदेखि काठमाडौँभित्रका चक्रपथ वरपरबाट उपत्यका बाहिर सञ्चालन हुँदै आएका सार्वजनिक यात्रुवाहक सवारीसाधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निणर्य गरे पनि उक्त निणर्यको कार्यान्वयन नभएको पाइएको हो ।

मुख्यतः काठमाडौँको पेप्सीकोला, जडीबुटी, मनोहरा करिडोर, कोटेश्वर, तिलगंगा, बागमती करिडोर, गौशाला, चाबहिल, जोरपाटी, धोबीखोला करिडोर, गोंगबु, विष्णुमती करिडोर, माछापोखरी, बालाजु, स्वयम्भू, कलंकी र बल्खुलगायत क्षेत्रबाट सञ्चालन हुँदै आएका सवारीसाधन असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निणर्य भए पनि कार्यान्वयनमा समस्या देखिएको हो ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले महानगरले गरेको निणर्य कार्यान्वयनका लागि नगर प्रहरी लागिरहेको बताए ।

‘काठमाडौँ महानगरपालिकाभित्रको यातायातलाई व्यवस्थित ढंगले सञ्चालन गर्न महानगरपालिकाले नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवसायी तथा मजदुरसँग सहकार्य गरिरहेको छ, चाँडै समस्या समाधान हुन्छ,’ उनले भने ।

नगर प्रहरी प्रमुख पाण्डेले चक्रपथ क्षेत्रमा सञ्चालन भएका टिकट बुकिङ काउन्टरलाई महानगर प्रहरीले हटाउने काम सुरु गरिसकेको जानकारी दिए ।

‘कोटेश्वरबाट पूर्वतर्फ चल्ने केही सवारीसाधन महानगरपालिकाको स्वीकृतिबिना जडीबुटीमा पार्किङ स्थल बनाउन लागेको जानकारी महानगरपालिकालाई प्राप्त भएको छ, उक्त कार्यलाई महानगरपालिकाले तत्काल रोक्नेछ,’ उनले सुनाए ।

यस्तै, सोही क्षेत्रको सडक वरपर रहेका टिकट काउन्टरलाई समेत चाँडो हटाउने उनले दाबी गरे । काठमाडौँ महानगरपालिकाभित्र सवारीसाधन व्यवस्थित रूपमा सञ्चालन गर्न अवरोध गर्नेलाई महानगरपालिकाले कारबाही गर्ने उनको भनाइ छ ।

नयाँ बसपार्कभित्रबाट सार्वजनिक भाडाका सवारीसाधन सञ्चालन गर्न यातायात व्यवसायी, मजदुर संघ, संगठनको सहकार्यमा नयाँ बसपार्क सञ्चालन गरिरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिले यसका लागि नयाँ बसपार्कभित्र काउन्टरसमेत निर्माण गरिसकेको छ ।

ल्होत्सेका मानव संशाधन प्रमुख पंकज मल्लले नयाँ बसपार्कभित्रबाट सार्वजनिक भाडाका सवारीसाधन सञ्चालन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गरिसकेको बताए ।

‘महानगरपालिकाले असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट सार्वजनिक भाडाका सवारीसाधन अनिवार्य सञ्चालन गर्ने निणर्य गरेसँगै ल्होत्सेले ६६ वटा टिकट बुकिङ काउन्टर थप गरिसकेको छ,’ उनले भने ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले काठमाडौँभित्र सार्वजनिक सवारीसाधनलाई व्यवस्थित रूपमा सञ्चालन गर्न व्यवसायीहरू तयार रहेको बताए ।

‘व्यवसायी र सरकार दुवैलाई सहज हुने ढंगले सार्वजनिक सवारीसाधन सञ्चालन हुनुपर्छ,’ उनले भने ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले लामो दुरीका सवारीसाधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमै समस्या हुने गरेको बताए ।

‘लामो तथा छोटो दुरीका सवारीसाधन गोंगबुस्थित नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने महानगरपालिकाको निणर्यले काठमाडौँभित्रको सवारी व्यवस्थापनलाई सहज बनाउने हामीले विश्वास लिएका छौँ,’ उनले भने ।

प्रवक्ता भट्टले नयाँ बसपार्कभित्रबाट सार्वजनिक भाडाका सवारीसाधन सञ्चालन गर्नेबारे ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग सहकार्य गरिरहेको जानकारी दिए ।

काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारीसाधनलाई व्यवस्थित तथा पार्किङ गर्न महानगरपालिकाले २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो ।

१६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा ८ सयभन्दा बढी सार्वजनिक सवारीसाधन राख्ने क्षमता छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा झन्डै १८ लाख हाराहारी सवारीसाधन सञ्चालनमा छन् भने १ हजार ८०० हाराहारी ट्राफिक जनशक्ति कार्यरत छन् ।

पछिल्लो समय मुलुकको राजधानी काठमाडौँलगायत देशभर निजी तथा सार्वजनिक सवारीसाधनको संख्या वृद्धि हुँदा र बाटो साँघुरो हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।