हिउँदमा जथाभावी खनिएका सडक वर्षामा अवरुद्ध, ५६ सडक बन्द

हिउँदमा जथाभावी खनिएका सडक वर्षामा अवरुद्ध, ५६ सडक बन्द


जाजरकोट ।
लगातारको वर्षाका कारण जाजरकोटका ग्रामीण क्षेत्रका सडक बन्द हुन थालेका छन् ।

खलङ्गा–बारेकोट, खलङ्गा–कुशे, पश्चिम जुनिचाँदेलगायत अन्य दर्जन बढी सडक अवरुद्ध भएको स्थानीय तहले जनाएका छन् ।

हिउँदयाममा जथाभावी खनिएका सडक वर्षायाममा पानी पर्न थालेपछि भत्किएर ग्रामीण क्षेत्रका अधिकांश सडक अवरुद्ध भएका हुन् । सदरमुकामदेखि भेरी करिडोरअन्तर्गत पर्ने डोल्पाको दुनैसम्मको सडक ठाउँ–ठाउँमा अवरुद्ध हुँदा गाडी बदलेर यात्रा गर्नुपरेको यात्रु मोहन शाहीले बताए ।

जिल्लाभित्रका अधिकांश सडक अवरुद्ध हुँदा आवतजावतमा समस्या आएको बारेकोट गाउँपालिका–५ का विवेक सिंहले बताए। उनका अनुसार आन्तरिक तथा लामो दुरीका लागि सञ्चालन भएका सडकमा पुल निर्माण नभएकाले खोला बढ्दा यातायात सेवा अवरुद्ध भएका हुन् ।

नयाँ खनिएका २८ र पुराना गरी ५६ सडक बन्द भएका सिंहले बताए । यातायातका साधन नचल्दा सदरमुकामसम्म आवागमनमा सास्ती हुने गरेको उनको भनाइ थियो । “सडक अवरुद्ध भएकाले यातायातका साधन सञ्चालनमा समस्या छ । सदरमुकामसम्म यात्रा गर्न धेरै दिन लाग्ने गरेको छ”, उनले भने, “बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन पनि सास्ती भइरहेको छ ।”

हिउँदमा निर्माण गरिएकासडक वर्षाको पानीले बगाउँदा क्षतिसमेत भएको सिंहको भनाइ छ । निरन्तरको वर्षाले हवाई सेवासमेत प्रभावित भएको छ । नेपालगन्ज–डोल्पाको हवाई सेवा अवरुद्ध भएको छ ।