हुलाक बचत बैंक खारेज गर्ने भएपछि खाता र दायित्व वाणिज्य बैंकमा

हुलाक बचत बैंक खारेज गर्ने भएपछि खाता र दायित्व वाणिज्य बैंकमा


चितवन ।

चितवनस्थित हुलाक बचत बैंकको खाता राष्ट्रिय वाणिज्य बैंकमा हस्तान्तरण गरिएको छ ।

आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटमार्फत सरकारले हुलाक बचत बैंक खारेज गर्ने व्यवस्था गरेसँगै त्यहाँको खाता हस्तान्तरण गरिएको हो ।

सोही व्यवस्थाअनुसार बैंकका खातावलाको कूल दायित्व र ऋणीको ऋण रकम हस्तान्तरण गरिएको जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत रमेश ज्ञवालीले जानकारी दिए । उनका अनुसार कर्मचारी र केही सङ्घ संस्थाले जिल्ला हुलाक कार्यालयअन्तर्गत बैंकिङ शाखामार्फत कारोबार गरिरहेका थिए ।

६०९ जनाको दायित्व र ऋण लगानीको विवरण मङ्गलबार राष्ट्रिय वाणिज्य बैंक नारायणगढ शाखाका सहायक शाखा प्रबन्धक कोपिलादेवी शर्मा आचार्यलाई हुलाक अधिकृत ज्ञवालीले हस्तान्तरण गरे।

हुलाक बचत बैंकमा रु १ करोड ७९ लाख ६७ हजार ३४५ बचत भएकामा रु ५७ लाख ३ हजार ३३० रुपैँया ऋण लगानी भएको कार्यालयले जनाएको छ । बाँकी रु १ करोड २२ लाख ६४ हजार १५ रुपैँया कार्यालयले वाणिज्य बैंकलाई बुझाएको हो । अव ऋण लगानी भएको रकम वाणिज्य बैंकले नै उठाउने प्रमुख ज्ञवालीले बताइन् ।

जिल्ला हुलाक कार्यालयको बैंकिङ शाखामा ३ कर्मचारी कार्यरत थिए । सबै कर्मचारी अब जिल्ला हुलाक कार्यालयमा नै कार्यरत हुनेछन् । हुलाक बैकमा प्रतिव्यक्ति अधिकतम रु ४ लाख ५० हजारसम्म लगानी भएको छ भने रु १० लाखसम्म बचत गरिएको छ ।

नेपाल सरकारले हुलाक कार्यालयलाई आव २०३२/३३ सालदेखि सर्वसाधारणको बचत सङ्कलन गर्ने र आव २०६०/६१ देखि ऋण लगानीसमेत गर्ने अनुमति दिएको थियो ।

हुलाक बचत बैंकको कार्यक्षेत्र निक्षेप सङ्कलनमा सर्वसाधारण र ऋण लगानीमा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका स्थायी कर्मचारी रहँदै आएका थिए । विगतमा बचतका लागि अरू बैंक, सहकारी, वित्तीय संस्था नभएको अवस्थामा हुलाक बचत बैंकको महत्व धेरै भए पनि अहिले कमहुँदै गएको ज्ञवालीले बताइन् ।