निजगढका स्थानीय भन्छन् : आकाशधारा र पानीसरा बस्ती हेटाैँडामा हाेइन निजगढमा हुनुपर्छ

निजगढका स्थानीय भन्छन् : आकाशधारा र पानीसरा बस्ती हेटाैँडामा हाेइन निजगढमा हुनुपर्छ


बारा । निजगढ नगरपालिकाको सिमानाभित्र पर्ने भए पनि हाल हेटौँडा उपमहानगरपालिकामा रहेका दुइटा बस्तीलाई निजगढमा सामेल गराउनुपर्ने माग उठ्न थालेको छ ।

बारा जिल्लाको सीमाभित्र पर्ने हेटौँडा उपमहानगरपालिकाको आकाशधारा र पानीसरा बस्तीलाई निजगढ नगरपालिकामा कायम गरिनुपर्ने निजगढका लेखापढी व्यवसायी बद्री बडालले माग गरेका छन् ।

साविक मकवानपुर जिल्लाको हटिया गाउँ पञ्चायत-८ को उक्त बस्तीलाई नेपाल सरकारले २०३५ सालमा राजपत्रमा सूचना प्रकाशित गरेर बाराको मनहर्वा गाउँ पञ्चायतमा समावेश गर्ने भनेर गरेको निर्णयका आधारमा उक्त बस्तीलाई निजगढमा गाभ्नुपर्ने बडालको भनाइ छ ।

राजपत्रमा हटियाको आकाशधारा, पानीसारा र डम्बरपुरलाई बाराको साविक मनहर्वा गाउँ पञ्चायत र मकवानपुरकै रातोमाटे पञ्चायत-१ को विरेदमारलाई अमलेखगन्जमा समावेश गर्ने सूचना जारी भएको थियो ।

साेही सूचनाअनुसार रातोमाटेको विरेदमार र हटियाको डम्बरपुर अमलेखगन्ज र मनहर्वामा गाभिएको भए पनि निजगढमा पर्ने आकाशधारा र पानीसरा बस्ती अझै पनि मकवानपुरमा छन् ।

मनहर्वा गाउँ पञ्चायत विभाजन भएर रतनपुरी गाउँ पञ्चायत गठन भएपछि चुरे क्षेत्रमा पर्ने उक्त बस्तीहरू राजपत्रमा प्रकाशित सूचनाअनुसार हाल निजगढ नगरपालिकाभित्र पर्ने बडालको भनाइ छ । उक्त बस्ती निजगढभित्र कायम गर्न निजगढ नगरपालिकाले पहल सुरु गर्नुपर्ने बडालले बताए ।

त्यसैगरी निजगढका पुस्तक व्यवसायी सागर थोकरले पनि सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी लेखेर राजपत्रको सूचनाअनुसार निजगढ नगरपालिकाको आफ्नो भूभागभित्र बसोबास गर्ने जनता र सो क्षेत्रको जल, जमिन र जंगलको संरक्षण गर्ने कार्य तत्काल सुरु गर्न निजगढ नगरपालिकासँग अनुरोध गरेका छन् । -न्युज कारखाना