माण्डु हाइड्रोकाे आइपिओ भर्नुभयाे ? विदेशमा बस्नेका लागि आज अन्तिम दिन

माण्डु हाइड्रोकाे आइपिओ भर्नुभयाे ? विदेशमा बस्नेका लागि आज अन्तिम दिन


काठमाडौँ ।

माण्डु हाइड्रोपावरको आइपिओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले आवेदन दिने म्याद थप भएको छ ।

स्थानीय बासिन्दाले यस कम्पनीको आइपिओमा अब साउन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भने बिहीबार कार्यालय समयभित्रमात्र आवेदन दिन सक्नेछन् ।

यस कम्पनीले असार २८ गतेदेखि आइपिओ बिक्री खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्रिमियम भाउमा आइपिओ निष्कासन गरेको हो ।

हाइड्रोपावरले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २ प्रतिशत अर्थात २ लाख ७२ हजार ७३० कित्ता सेयर स्थानीय बासिन्दाका लागि जारी गरेको छ ।

यसले १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर कुल २०६ रुपैयाँका दरमा आइपिओ बिक्रीमा ल्याएको हो । उक्त सेयरमा ललितपुर जिल्लाको बाग्मती गाउँपालिकाको वडा-१ र २ का बासिन्दाले आवेदन दिन सक्नेछन् । त्यस्तै, मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिकाको वडा-५, ६, ७ र ८ तथा इन्द्रसरोवर गाउँपालिकाको वडा-३ का स्थानीय बासिन्दाले पनि यसमा आवेदन दिन सक्नेछन् ।

यता, सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ३६ हजार ३६४ कित्ता सेयर विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्कासन भएको छ ।

दुवै समूहका लगानीकर्ताले यस कम्पनीको आइपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपिओलाई इक्रा एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सुरक्षित रहेको संकेत गर्छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल छ । स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु क्यापिटलको कार्यालय, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।