गाँउपालिकाद्वारा उपरदाङगढीको जीर्णोद्धार सुरु

गाँउपालिकाद्वारा उपरदाङगढीको जीर्णोद्धार सुरु


चितवन ।

चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीको जीर्णोद्धार सुरु गरिएको छ ।

इच्छाकामना गाँउपालिकाले जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको भौतिक संरचना संरक्षणका लागि जीर्णोद्धार सुरु गरेको हो ।

यहाँका संरचना संरक्षणको अभावमा जीर्ण बन्दै गएका थिए । पुरातत्व विभागसँगको समन्वयमा कोत घर, काठे पुल, ढोका र मन्दिरको जीर्णोदार गर्न सुरु गरिएको इच्छाकामना गाँउपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बताए ।

गाँउपालिकाको आन्तरिक स्रोतबाट जीर्णोद्धारको काम भइरहेको उल्लेख गर्दै अध्यक्ष गुरुङले गढीको विकासका लागि सङ्घ र प्रदेश सरकारसँग पनि बजेट माग गरिएको बताए ।

गढीको जीर्णोद्धारसँगै जग्गा संरक्षणको कामलाई पनि अघि बढाँउदै चितवन र समग्र देशको इतिहाससँग जोडिएको गढीलाई गाउँपालिकाले प्राथमिकतामा राखेर पर्यटकीय गन्तव्य बनाउन लागिएको छ ।

गाउँपालिकाले यस वर्ष उक्त गढीेलगायत पर्यटकीय क्षेत्रको विकासका लागि बजेट विनियोजना गरेको छ । प्रदेश र केन्द्र सरकारसँग बजेट मागेर यसको विकास गर्ने योजना रहेको अध्यक्षले बताए ।

पुरानो सदरमुकाम तथा नेपाल अङ्ग्रेज युद्धस्थल उपरदाङगढीसँगै इच्छाकामना मन्दिर, पाथिभरा, सिँराइचुली र जलवीरे झरनालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा अघि बढाइने छ ।

सडक सञ्जालले जोडिएपछि र पूर्वाधार निर्माण हुन थालेपछि यस ऐतिहासिक गढी घुम्न आउनेको सङ्ख्या बढेको छ । जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै एक घण्टामा मोटरसाइकल र साना गाडीमा सहजरुपमा उपरदाङगढी पुगिन्छ । शक्तिखोर फिस्लिङ सडकका कारण पनि यहाँ घुम्न आउने बढेका हुन् ।

पछिल्लो समय यहाँ घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । सयौँको सङ्ख्यामा यहाँ घुम्न, फोटो खिच्न र एतिहासिक गढीको जानकारी लिन आउने गरेका छन् । यहाँ बस्नका लागि केही होमस्टे (घरबास) सञ्चालनमा छन् । गढीमा मासिक १ लाखको टिकट बिक्री हुने गरेको छ । गढीमा घुम्न आउनेबाट पालिकाले रु ५० शुल्क लिने गरेको छ ।

इच्छाकामनासँग जोडिएको कालिका नगरपालिकाले पनि उपरदाङगढीसँग जोडेर पर्यटन पूर्वाधार निर्माणका गरिरहेको छ । नगरपालिकाका प्रमुख विनोद रेग्मीले उपरदाङगढीसम्म पुग्न सडक पूर्वाधार निर्माण भइसकेको भन्दै दुई पालिका जोडेर पर्यटकीय गतिविधिको विकास गर्ने गरी काम गरिरहेको छ ।

सन् १९६० को शुरुसम्म उपरदाङगढी चितवनको सदरमुकाम थियो । इतिहासमा उल्लेख गरिएअनुसार सन् १९७० सम्म सरकारी अड्डा यहीबाट सञ्चालन हुन्थ्यो । तल्कालीन बाइसे चौबिसे राज्य एकीकरणका साथै नेपाली भूमिको रक्षाका लागि अङ्ग्रेज फौजविरुद्ध युद्धका बेला सन् १८०० को सुरुतिर पृथ्वीनारायण शाहका नाति तथा बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले उक्त गढी निर्माण गराएका थिए । गढी वरपर कुँदिएका ढुङ्गाको पर्खाल छ ।

भित्र हतियार घर, कुँवा र दुईकोठे घर छन् । समुद्री सतहबाट एक हजार दुई सय ७५ मिटर उचाइमा रहेको उपरदाङगढीबाट सूर्योदय र सूर्यास्त सहजै अवलोकन गर्न सकिन्छ । स्थानीय बासिन्दाका अनुसार यहाँबाट अन्नपूर्ण, लाम्टाङ, इच्छाकामना, कालिका मन्दिर, देवघाट, गोरखा, तनहुँ र चितवनका ग्रामीण क्षेत्र सजिलै देखिन्छन् ।

यो रमणीय स्थानमा चेपाङ, मगर र गुरुङको पातलो बस्तीले घेरिएको छ । यी जातजातिको आफ्नै मौलिक परम्परा, संस्कृति र रीतिरिवाज छन् ।