बाली विज्ञान पढ्ने विद्यार्थीलाई मासिक ३ हजार भत्ता दिँदै जलजला गाउँपालिका

बाली विज्ञान पढ्ने विद्यार्थीलाई मासिक ३ हजार भत्ता दिँदै जलजला गाउँपालिका


पर्वत ।

जलजला गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिलाई प्राथमिकता दिएको छ ।

शिक्षा र कृषिका क्षेत्रमा विकास केन्द्रित रहेको गाउँपालिकाले शैक्षिक गुणस्तरलाई वृद्धि गर्ने रणनिती लिएको हो ।

जसकालागि गाउँपालिकाले शिक्षक व्यवस्थापन मापदण्ड निर्धारण गरी दरबन्दी मिलान तथा तह समायोजनको प्रकृया अघि सारेको गाउँपालिकाका प्रमुख राजु आचार्यले बताए ।

गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार पारी एकदेखि ८ कक्षासम्म पढाइ सुरु गरेको छ ।पाठ्यपुस्तकलाई सफ्टवेयरमार्फत डिजिटल प्रणालीको प्रयोगबाट पठनपाठन गर्ने व्यवस्थासमेत मिलाएको छ ।

पालिकाभित्र बाली विज्ञान अध्ययनरत विद्यार्थीलाई मासिक ३ हजार भत्ताको व्यवस्था समेत गरेको आचार्यले बताए। विद्यार्थीको सिकाइ क्रियाकलापलाई प्रविधिसँग जोड्न हरेक विद्यालयमा ल्यापटप, स्मार्ट टिभीसहित एलएमएस प्रणालीको व्यवस्था समेत गाउँपालिकाले गरेको छ ।

यस्तै कृषि क्षेत्रको व्यावसायिक विकासका लागि आलुको पकेट क्षेत्र स्थापना गरी बिउ आलु उत्पादन सुरु भएको छ । पालिकाको ६ वटा वडाका कृषक समेटेर भैँसी पकेट क्षेत्र सञ्चालन गरेको छ । यसबाट कृषक लाभान्वित भएका छन् । पालिकाको गौरवको आयोजनाका रूपमा एकै साथ ८ वटा वडा कार्यालयको भवन निर्माण सम्पन्न भएको आचार्यले बताए ।

यस्तै आन्तरिक सुशासन मजबुत र प्रभावकारी बनाउन मासिक रूपमा प्रत्येक शाखाका प्रमुखसँग बैठक बस्ने गरेको उनले बताए। हेल्प डेक्स, गुनासो सङ्कलन, कर्मचारी लकबुक व्यवस्था, आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गर्नुका साथै जनतालाई छिटो छरितो र भरपर्दो सेवासुविधा र नागरिक सेवालाई भरपर्दो पारदर्शी र प्रभावकारी बनाउन डिजिटल प्रविधिको प्रयोग गरी स्मार्ट गाउँ बनाइने योजना रहेको आचार्य बताउछन् ।