नेप्सेमा पहिराे : २९.७१ अंकले बजार ओर्लिँदा सबै सूचक ऋणात्मक

नेप्सेमा पहिराे : २९.७१ अंकले बजार ओर्लिँदा सबै सूचक ऋणात्मक


काठमाडौँ

साताकाे पहिलाे दिन बढेकाे सेयर काराेबार मापक नेप्से सूचक त्यसयता निरन्तर घटिरहेकाे छ । बिहीबार पनि २९.७१ विन्दुले घटेर २१२६.४८ अंकमा कायम भएकाे छ ।

त्यस्तै, ठूला कम्पनीकाे सेयर मापक सेन्सेटिभ इन्डेक्स पनि ५.२६ अंक घटेर ४०३.८४ को विन्दुमा बन्द भएको हो ।  यस दिन करिब २ अर्ब ४२ करोड रुपैयाँको  कारोबार भएको छ ।

यस दिन २७१ कम्पनीको ६२ लाख ७१ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १० करोड ५७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्सुरेन्स र प्रोग्रेसिभ फाइनान्स परेका छन् ।

आज बैंकिङ १३, विकास बैंक ४७, फाइनान्स ४२, होटल तथा पर्यटन ११९, जलविद्युत् २६, जीवन बिमा २२२, उत्पादन ११३, माइक्रोफाइनान्स ५९, निर्जीवन बीमा १३८, अन्य ३४ र व्यापार उपसमूह ७८ अंकले घटेकाे नेप्सेले जनाएकाे छ ।

मनकामना स्मार्ट लघुवित्त, इमर्जिङ नेपाल, अभियान लघुवित्त, सिकलेस हाइड्रोपावरको सेयर मूल्यमा केही वृद्धि भयाे ।

राष्ट्र बैंककाे मौद्रिक नीतिपछिको पत्रकार सम्मेलनले सेयर लगानीकर्ता थप निरुत्साहित बनाएकाे छ । मौद्रिक नीति जारी भएपछि सेयर बजारले सकारात्मक गति लिनै सकेन ।

केन्द्रीय बैंक सेयर बजारप्रति सकारात्मक हुन नसकेको सामाजिक सञ्जालहरूमा लगानीकर्ताले आरोप लगाइरहेका छन् । यस्तै, मौद्रिक नीतिमा नखुलेको कुरालाई गभर्नरले पत्रकार सम्मेलनमा बोलेको उनीहरूको आरोप छ । सोही बोलीका कारण लगानीकर्ताको मनोबल गिरेको आरोप लगाइएको छ ।