शैल्यशिखर नगरपालिकाका प्रशासकीय अधिकृत विष्ट सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

शैल्यशिखर नगरपालिकाका प्रशासकीय अधिकृत विष्ट सहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुला, शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट र इन्जिनियर सन्तोष पाण्डेयसमेत सात जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

शैल्यशिखर नगरपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्रसिंह धामी, सबइन्जिनियर दीपकसिंह विष्ट, पनेबाज–बन्तोली–बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, सचिव धनन्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशी विरुद्ध पनि मुद्दा दर्ता भएको हो ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं. ६ पनेबाज मौरीभिटादेखि वडा नं. ७ र ८ को बन्तोली बोहरीगाउँको सडकखण्ड निर्माणको लागत इस्टिमेटमा कडा चट्टानको भाग बढी देखाई वास्तविकभन्दा बढी भुक्तानी भएको अख्तियारले जनाएको छ ।

सोसम्बन्धी उजुरी सम्बन्धमा अनुसन्धान हुँदा निमित्त प्रमुख प्रशासकीय विष्टले आव २०७४/७५ र आव २०७५/७६ मा सञ्चालित पनेबाज–बन्तोली–बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बङ्ग्याई कटिङ गर्दा बढी दररेट रहेको हार्ड रकको परिमाण अस्वाभाविक रूपमा बढी मूल्याङ्कन गरेका थिए ।

उनले सो मूल्याङ्कनअनुसार नापी किताबमा चढाई हस्ताक्षर गरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरेरनगराएको परिमाणको झुटा बिलभरपाई तथा कार्यसम्पन्न प्रतिवेदन स्वीकृत गराएका थिए । यसरी २६ लाख दुई हजार ५५६ रुपैयाँ ११ पैसा बढी भुक्तानी दिई भ्रष्टाचार गरेको अख्तियारको ठहर छ । उनी विरुद्ध सोही बमोजिमको बिगो कायम गरी विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

त्यस्तै, नगरपालिकाका इन्जिनियर सन्तोष पाण्डेय विरुद्ध रु ११ लाख ३० हजार २७२ रुपैयाँ ६७ पैसा, तत्कालीन इन्जिनियर राजेन्द्रसिंह धामी विरुद्ध १४ लाख ७२ हजार २८३ रुपैयाँ र ४३ पैसा, सबइन्जिनियर दीपक सिंह विष्ट विरुद्ध २६ लाख दुई हजार ५५६ रुपैयाँ र ११ पैसा बिगो कायम गरी कैद र जरिवाना गरी सोहीबमोजिम बिगो रकम असुलउपर हुनसमेत मागदाबी लिइएको छ ।

त्यसैगरी, पनेबाज बन्तोली बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, सचिव धनन्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीलाई २६ लाख दुई हजार ५५६ रुपैयाँ र ११ पैसा बिगो कायम गरी बिगो रकमसमेत जफत् हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।