नेपालीले १ बर्षमा ७ अर्बको स्याउ खाए

नेपालीले १ बर्षमा ७ अर्बको स्याउ खाए

१६ अर्बभन्दा बढीको फलफूल नेपाल भित्रियो


काठमाडौं ।

 

गत आर्थिक वर्ष २०७९/८० मा रु १६ अर्बभन्दा बढीको फलफूल आयात भएको छ ।

कूल गार्हस्थ उत्पादन (जिडिपी)मा कृषिको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा फलफूल आयातमा भने अर्बौं रकम बाहिरिएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा रु १६ अर्ब ८ करोडभन्दा बढी रकम फलफूल आयातका लागि बाहिरिएको छ ।

 ७ अर्बको स्याउ आयात 

विभागका अनुसार गत आवमा रु ७ अर्ब ९ करोड ४४ लाख ७७ हजार मूल्य बराबरको ८ करोड ३२ लाख ७४ हजार ३३१ केजी स्याउ आयात भएको छ । त्यसबाट सरकारले रु ८६ करोड ८३ लाख ८९ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

सार्वजनिक विवरणानुसार चीनबाट सबैभन्दा धेरै स्याउ आयात भएको देखिन्छ । चीनबाट मात्र रु ५ अर्ब १५ करोड ५८ लाख ४५ हजार मूल्य बराबरको स्याउ आयात भएको छ ।

त्यस्तै भारतबाट रु १अर्ब ९३ करोड ८ लाख ७८ हजार, अमेरिकाबाट रु ५० लाख ३४ हजार, स्वीजरल्याण्डबाट रु २७ लाख २० हजार मूल्य बराबरको स्याउ आयात भएको विवरण छ ।

२ अर्बको अङ्गुर आयात

गत आवमा मुलुकमा रु दुई अर्ब १५ करोड ८८ लाख ७६ हजार मूल्य बराबरका ३ करोड ९ लाख ८  हजार १७२ केजी ताजा अङ्गुर आयात भएको छ । त्यसबाट सरकारले रु ११ करोड १ लाख ७० हजारको राजस्व सङ्कलन गरेकोे छ । ताजा अङ्गुर सबैभन्दा धेरै भारतबाट रु २ अर्ब १३ करोड ७६ लाख ६५ हजार बराबर तथा चीन बाट रु २ करोड १२ लाख तीन हजार बराबरको आयात भएको छ ।

केरा आयातबाट १ अर्ब ६२ करोड बाहिरियो

विभागका अनुसार गत आवमा रु १ अर्ब ६२ करोड ७३ लाख ९९ हजार बराबरको केरा आयात भएको छ । कूल ५ करोड ३३ लाख ९४ हजार ७९५ केजी केरा भारतबाट आयात भएको र त्यसबापत सरकारले रु २९ करोड ४३ लाख ३८ हजार राजस्व संकलन गरेको सार्वजनिक विवरणमा उल्लेख छ ।

विभागका अनुसार गत आवमा ८९ लाख ४ हजार १२७ केजी अनार आयातमा रु ९३ करोड ४९ लाख ३५ हजार रकम बाहिरिएको छ । जसबाट सरकारले रु ९ करोड ४९ लाख ९० हजार राजस्व उठाएको छ ।

सार्वजनिक विवरणानुसार गत आवमा रु ८८ करोड १८ लाख ८४ हजार बराबरको एक करोड ५४ लाख ८७ हजार आठ सय ८१ केजी सुन्तला आयात भएको छ । त्यस्तै १ करोड ५५ लाख ५१ हजार ३६८ केजी अम्बा तथा आँप आयातमा रु ७० करोड २ लाख ७२ हजार बाहिरिएको छ । साथै २ करोड ७० लाख ७७ हजार दुई सय ८६ केजी खरबुजा आयातका लागि रु ६८ करोड ९५ लाख ४० हजार बराबर रकम बाहिरिएको छ ।

नेपालको हावापानी सुहाउँदो फलका रुपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ । विभागका अनुसार गत आवमा ८८ लाख ३५ हजार ३०८ केजी मेवा आयात भएको देखिन्छ । मेवाको आयात मूल्य  रु ३० करोड ९० लाख ८१ हजार बराबर छ ।

यस अवधिमा रु १३ करोड ६२ लाख ५८ हजार बराबरको ३० लाख ५० हजार आठ सय ९० केजी भुइँकटहर आयात भएको छ भने १५ लाख ६२ हजार सात सय ३८ किलो नास्पाती आयातमा रु १२ करोड ३६ लाख २६ हजार खर्च बाहिरिएको छ ।

त्यस्तै रु ९ करोड ४५ लाख ७८ हजार बराबरको दुई लाख ५८ हजार छ सय २८ किलो एभोगाडो आयात भएको छ भने रु ७ करोड ५२ लाख २१ हजार बराबरको ४ लाख १० हजार ३२२ किलो किबी आयात भएको छ ।