पुल बन्न थालेपछि भाेजपुरका ग्रामीण क्षेत्र समृद्धिकाे बाटाेमा

पुल बन्न थालेपछि भाेजपुरका ग्रामीण क्षेत्र समृद्धिकाे बाटाेमा


भाेजपुर ।

सडक सञ्जालसँग जोडिएसँगै पूर्वी पहाडी जिल्ला भोजपुरका ग्रामीण क्षेत्र जोड्नका लागि पक्की पुल निर्माण हुन थालेका छन् । आर्थिक वर्ष २०७९/८० मा भोजपुरमा दुइटा पक्की पुल निर्माण भएका छन् ।

सडकसँगै बनेका पक्की पुलले जिल्लाको विकासमा फड्को मार्दै गएको छ । प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय भोजपुरमार्फत ती पुल बनेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ ।

पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजेश्वर महतोले आर्थिक वर्ष २०७९/८० मा भोजपुर नगरपालिका बोखिम र टेम्केमैयुङ गाउँपालिका जोड्ने पिखुवा खोला पुल र षडानन्द नगरपालिकामा पर्ने याकुवा खोला नखुवा दोभान बाङखुवा पुलको निर्माण सम्पन्न भएको जानकारी दिए ।

वर्षातकाे समयमा आवतजावतमा समस्या हुने क्षेत्रमा सडक सञ्जालको पहुँच पुगेसँगै मोटरेबल पुल बन्न सुरु भएको हो । बनेका र बन्दै गरेका पुलले भोजपुर जिल्लाका मात्र नभएर छिमेकी जिल्लाका नागरिकलाई समेत लाभ पुग्ने पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख महतोको भनाइ छ ।

षडानन्द नगरपालिका–१२ र १४ जोड्ने बाङखुवा खोलामा पुल निर्माणका लागि २०७६ फागुन १५ गते सम्झौता भएको थियो ।

कोसी प्रदेश सरकारको ३ करोड १९ लाख ८४ हजार ५१३ रुपैयाँ लागतमा पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

२५ मिटर लामो उक्त पुल गोल्डेन गुड शेर्पा निर्माण कम्पनीले बनाएको पूर्वाधार विकास कार्यालयका कम्प्युटर अपरेटर राजन कोइरालाले बताए । पुलको गुणस्तरीयतामा पनि कार्यालयले अनुगमन र निगरानी गर्ने गरेको कोइरालाको भनाइ छ ।

यस्तै भोजपुर नगरपालिका बोखिम हुँदै टेम्केमैयुङ गाउँपालिका–६ कोट जोड्ने पिखुवा खोला (खाल्डे) पुलको समेत निर्माण पूरा भएको छ । २०७७ असार २५ गते सम्झौता भएको पुलको निर्माण कुन्सालिङ युडी जेभी भोजपुरले पाएको थियो ।

२१.२५ मिटर लम्बाइको पुल निर्माण सम्पन्न गरेको निर्माण व्यवसायी उत्तम खड्काले बताए । उनले भने, ‘सम्झौताअनुसारको पुल निर्माण भएर सञ्चालनमा आएको छ ।’

सडक सञ्जाल र पक्की पुलको विकासले समग्र जिल्लाको विकासमा टेवा मिलेको जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईले बताए । उनले भने, ‘ठुला खोलामा पक्की पुल बन्न थालेका छन् । बनेका र बन्दै गरेका पुलले ग्रामीण क्षेत्रका नागरिकमा देखिएको सास्ती पनि हट्दै गएको छ ।’

उनका अनुसार सडक र पुलको पहुँचले जिल्लाको आर्थिक, सामाजिक विकाससँगै यातायात व्यवसायीलाई समेत राहत मिलेको छ । विभिन्न कारणले बन्न ढिलाइ भएका पुल निर्माण सम्पन्न गर्न हामीले पनि सम्बन्धित निकायलाई दबाब दिन जरुरी छ ।

निर्माणाधीन पुलको विकासले उत्पादित सामग्रीको बजारीकरणसँगै स्थानीयबासीको शिक्षा, स्वास्थ्य, रोजगारजस्ता महत्वपूर्ण पक्षमा समेत सहयोग पुग्ने स्थानीय अनिल श्रेष्ठको धारणा छ ।