लम्पी स्किन : लिखु तामाकाेसीमा मात्रै १५० गाईगाेरु मरे, रामेछापका कुन पालिका कति प्रभावित

लम्पी स्किन : लिखु तामाकाेसीमा मात्रै १५० गाईगाेरु मरे, रामेछापका कुन पालिका कति प्रभावित


रामेछाप ।

रामेछापमा लम्पी स्किन संक्रमणबाट ३८१ पशुचौपाया मरेका छन् । यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया संक्रमित भएका छन् ।

लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगंगा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा ५, लिखु तामाकोसी गाउँपालिकामा १५०, सुनापती गाउँपालिकामा ३६ र उमाकुण्ड गाउँपालिकामा ४० गाईगोरु मरेको सम्बन्धित पालिकाका पशु सेवा शाखाले जनाएका छन् ।

रामेछाप नगरपालिकामा हालसम्म २ हजार १९०, मन्थलीमा ४ हजार, लिखु तामाकोसीमा ५ हजार २००, गोकुलगंगामा ४ हजार, खाँडादेवीमा २ हजार, उमाकुण्डमा २ हजार र सुनापतीमा १ हजार ६३५ पशुमा लम्पी स्किन संक्रमण फैलिएको पशु प्राविधिक रोहिणी चापागाईँले जानकारी दिए ।

दोरम्बा शैलुङ गाउँपालिकामा भने लम्पी स्किनबाट हालसम्म के कति पशुचौपाया प्रभावित भए भन्नेबारे कुनै तथ्यांक छैन । दोरम्बा शैलुङका पशु सेवा शाखाका प्रमुख राजेन्द्र ढुङंगेलले भने, ‘दोरम्बा शैलुङमा तथ्यांक संकलनको तयारी गर्दै छौँ ।’

लम्पी स्किन रोकथाम तथा नियन्त्रणका लागि पालिकाले निःशुल्क खोप प्रदान गरिरहेका छन् । निश्चित छुटसहित केही शुल्क लिएर अन्य औषधि वितरण गरिएको स्थानीय पालिकाका पशु सेवा केन्द्रका प्राविधिकले बताएका छन् ।

रोगबाट किसानले करोडौँ रुपैयाँको क्षति बेहोर्नुपरेको गोकुलगंगा गाउँपालिका पशु सेवा शाखाका पशु सेवा प्राविधिक लोकप्रसाद फुँयालले बताए । रोगको संक्रमणका कारण दूध उत्पादनमा ह्रास आएको छ । गोरु मरेका कारण तथा बिरामी पर्दा रोपाइँमा समस्या भएको छ । किसानले आर्थिक व्ययभार बेहोर्नुपरेको छ ।