बजार कुरूप बनाउने तार हटाउन १५ दिनकाे म्याद

बजार कुरूप बनाउने तार हटाउन १५ दिनकाे म्याद


लमजुङ ।

लमजुङकाे बेँसीसहर नगरपालिकाले बजार क्षेत्रमा रहेका अव्यवस्थित र प्रयोगमा नआएका केबल नेटवर्किङका तार हटाउन सम्बन्धित संस्थालाई १५ दिने सूचना जारी गरेको छ ।

नगरपालिकाले अव्यवस्थित तारले बजारको सौन्दर्यमा समस्या ल्याएको भन्दै हटाउन मंगलबारबाट १५ दिनको म्याद दिएको हो ।

प्रमुख दलकाे सहभागितामामा बसेको बैठकले अव्यवस्थित तारहरू हटाउने निर्णय गरेको हो ।

बैठकमा भएको निर्णयअनुसार बेँसीसहर नगरपालिकाको बजार क्षेत्रमा रहेका बिजुली तथा टलिफोनका पोलमा अव्यवस्थित रूपमा रहेका पुराना तथा प्रयोगमा नआएका केवल तथा नेटवर्किङका तार १५ दिनभित्र हटाउन सूचित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इमानाथ कँडेलले जानकारी दिए ।

यस सूचनापछि अव्यवस्थित तार व्यवस्थापनको काम सुरु हुने भएकाले कसैको विवरण नखुलेका तार तथा केबल छुट्न गएमा वा काटिएमा सम्बन्धित संस्था वा व्यवसाय स्वयं जिम्मेवार हुने नगरपालिकाले जनाएको छ ।

सदरमुकाम बेँसीसहरमा जताततै अव्यवस्थित तारको जालो देखिन्छ । बेँसीसहरसहित जिल्लाका अधिकांश बजार क्षेत्रमा तार व्यवस्थापन चुनौती बनेकाे छ ।