महिला डाक्टरले जाँच्ने भएकाले प्रजनन स्वास्थ्य कार्यक्रममा आउने महिला बढे

महिला डाक्टरले जाँच्ने भएकाले प्रजनन स्वास्थ्य कार्यक्रममा आउने महिला बढे


बारा ।

निजगढ नगरपालिकाले सञ्चालन गरेको उपप्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रममा महिलाहरूको आकर्षण बढ्दै गएको छ ।

एकीकृत प्रजनन स्वास्थ्य सेवा क्लिनिकमार्फत् महिलाहरूको प्रजनन र  अन्य सबै प्रकारको समस्या निदान र उपचार हुन थालेपछि कार्यक्रमको लोकप्रियता बढेको हो ।

निजगढ नगरपालिकाले सञ्चालन गर्दै आएको कार्यक्रमअन्तर्गत प्रत्येक महिनाको पहिलो आइतबार निजगढस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर आयोजना गरेर विशेषज्ञ चिकित्सकमार्फत नियमित रूपमा महिलाहरूको स्वास्थ्य परीक्षण र उपचार हुने गरेको छ ।

शिविरमा गत असार महिनामा मात्रै ६८ जनाले सेवा लिए । यो संख्या विगतको तुलनामा बढी भएको कार्यक्रमकी फोकल पर्सन रामप्यारी गौतमले जानकारी दिइन् ।

अघिल्ला महिनाहरूमा शिविरमा सरदर २०-२५ जनाले मात्रै सेवा लिने गरेका थिए । महिला स्वास्थ्यकर्मीहरूकै समूहले स्वास्थ्य परीक्षण र उपचार गर्ने भएकाले यो संख्या बढ्दै गएको उनले बताइन् ।

उनका अनुसार गत महिना १९ जनाको भिआईए जाँच, ४ जनाको प्याप स्मेयर,  ४ जनाले रिङग पेसरी सेवा लिएका हुन् । साथै १ जनाको बाँझोपनको उपचार र अन्य रोगका ९ जनालाई थप उपचारका लागि रिफर गरिएको छ ।

त्यसैगरी पाठेघरको मुखमा मासु पलाएका १ जना र महिलासम्बन्धी अन्य समस्या भएका ३० जना महिलाको परीक्षण गरी निःशुल्क औषधिसमेत प्रदान गरिएको छ ।

शिविरमा नारायणी अस्पताल वीरगन्जकी महिला तथा स्त्री रोग विशेषज्ञ डा. मञ्जु रायले सेवा प्रदान गर्दै आएकी छिन् ।