आर्थिक तरलताको प्रभाव साना उद्योगमा, दाङका २९८ घरेलु उद्योग बन्द

आर्थिक तरलताको प्रभाव साना उद्योगमा, दाङका २९८ घरेलु उद्योग बन्द


दाङ ।

दाङमा आर्थिक वर्ष २०७९÷८० मा दुई सय ९८ घरेलु तथा साना उद्योग बन्द भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लालबहादुर गुरुङका अनुसार वाणिज्यतर्फ तीन सय २३ साना उद्योग बन्द भएका छन् ।

बन्द हुनेमा उत्पादनमूलक उद्योग ५४, पर्यटन उद्योग ४८ र सेवामूलक उद्योग ५६ रहेका छन् । कार्यालयमा आएर आधिकारिकरूपमा बन्द गराउनेको सङ्ख्या न्यून भएको उनले बताए ।

जिल्लामा आव २०७९/८० मा सात सय ४२ घरेलु तथा साना उद्योग दर्ता भएका थिए । चालु तथा स्थिर पुँजीतर्फ रु एक अर्ब ४१ करोड एक लाख लगानी भएको छ ।

यसबाट रु ६३ लाख ३१ हजार राजश्व सङ्कलन भएको प्रमुख गुरुङले बताए। जिल्लामा हालसम्म ११ हजार तीन सय ८२ घरेलु तथा साना उद्योग रहेका छन् ।

विसं २०७९ असार मसान्तसम्म १० हजार नौ सय ३८ र आव २०७९/८० मा सात सय ४२ उद्योग थपिएको तथ्याङ्कले देखाएको छ । एक वर्षको अवधिमा सात सय १७ उद्योग नवीकरण भएका छन् ।

आठ सय १२ उद्यमी थपिएका छन् । दुई हजार पाँच सय ५३ जनाले रोजगार प्राप्त गरेको तथ्याङ्क छ । उत्पादनमूलक उद्योग ७५ वटा दर्ता भएका छन् । यसमध्ये छ सय ९२ जनाले रोजगार प्राप्त गरेका छन् । एक सय ८९ उद्योग नवीकरण गरिएको उनले बताए ।

कृषि तथा वनजन्य उद्योगमा चार सय ३२ दर्ता भएका छन् । यसबाट एक हजार एक सय ६८ जनाले रोजगार प्राप्त गरेका छन् । कृषि तथा वनजन्य दुई सय १८ उद्योग नवीकरण भएका छन् । पर्यटन उद्योगतर्फ ८१ वटा थपिएका छन् भने ७० वटा नवीकरण भएका छन् ।

त्यस्ता उद्योगबाट चार सय ६५ जनाले रोजगार प्राप्त गरेका छन् । सेवामूलक दुई सय ४० उद्योग नवीकरण भएका छन् । वाणिज्यतर्फ आठ सय २७ फर्म दर्ता भएका छन् ।

कोभिड–१९ को प्रभावपछि वृद्धि गरिएको बैंक ब्याज, आर्थिक तरलतालगायत कारण बढीजसो उद्योग तथा वाणिज्य फर्म बन्द भएका हुन् ।

उद्योग तथा वाणिज्य फर्म बन्द भएपछि अहिले बजारमा व्यावसायिक सटर खाली रहेका छन् । उद्योगी तथा व्यवसायी विस्थापित भएका छन् ।