विकास निर्माण गुणस्तरीय नभएकाे फेसबुकमा लेख्दा वडाध्यक्षबाट कुटिए युवा

विकास निर्माण गुणस्तरीय नभएकाे फेसबुकमा लेख्दा वडाध्यक्षबाट कुटिए युवा


काठमाडाैँ ।

सामाजिक सञ्जालमा वडामा भएकाे बेथिति र विकासमा राजनीतिबारे विराेधी टिप्पणी गरेकाे भन्दै बारामा वडाध्यक्षले युवालाई घाइते हुने गरी कुटेका छन् ।

परवानीपुर गाउँपालिका– २ का वडाध्यक्ष नोरुलहोदा अन्सारीकाे कुटाइबाट स्थानीय सन्दीप रायभर घाइते भएका हुन् । वडाध्यक्ष अन्सारी र उनका आफन्त मिलेर ती युवालाई कुटेकाे बताइएकाे छ ।

रायभारले वडामा भएका विकास निर्माणका काम गुणस्तरीय नभएको भन्दै फेसबुकमा लेखेका थिए ।

साेही विषयलाई लिएर बिहीबार साँझ वडाध्यक्ष अन्सारीलगायतको समूहको कुटाइबाट रायभरको खुट्टा र पिठ्युँमा चोट लागेको छ।

वीरगन्ज बिर्तास्थित मेट्रो अस्पतालमा उनकाे उपचार भइरहेकाे परिवारले बताएकाे छ ।

फेसबुकमा विरोध गरेकै आधारमा कुटपिट गरेर घाइते बनाउनु वडाध्यक्षकाे गुन्डागर्दी शैली भएको गाउँपालिकाका पूर्वअध्यक्ष हरिनारायण साहले बताए ।

यता वडाध्यक्ष अन्सारी भने ती युवाले केही समययता पूर्वाग्रही भएर वडा कार्यालय र आफ्नाबारे अनर्गल लेखेकामा सम्झाउने क्रममा विवाद र लछारपछार हुँदा उनको खुट्टा र पिठ्युँमा चोट लागेको बताउँछन् । नियाेजित रुपमा आफूले आक्रमण गरेकाे नभई उनलाई सम्झाउने क्रममा विवाद बढ्दै जाँदा सामान्य चाेट लागेकाे उनकाे भनाइ छ ।