मुग्लिन–नारायणगढ र सिद्धार्थ राजमार्ग अवरुद्ध

मुग्लिन–नारायणगढ र सिद्धार्थ राजमार्ग अवरुद्ध


चितवन ।

चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका–६, कालीखोला पुलनजिकै सडकमाथिबाट पहिरो खसेपछि आइतबार बिहान करिब पौने १० बजेदेखि सडक अवरुद्ध भएको हो ।

पानी परिरहेको र लेदो बगिरहेको बाटो पन्छाउन समस्या भइरहेको छ ।पानी पर्न र लेदो खस्न छाडेपछि बाटो पन्छाउनका लागि सडक डिभिजनको ‘मेसिन’ तयारी अवस्थामा राखिएको छ ।

शनिबार पनि सोही स्थानमा केही समय सडक अवरुद्ध भएको थियो ।

यता पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित ड्यामसाइड क्षेत्रमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले गएरातिदेखि खसेको पहिरो पन्छाउने प्रयास भइरहेको जनाएको छ । सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन् ।

माथिबाट ठूलो ढुङ्गासहित अझै पहिरो खस्ने खतरा रहेको जनाइएको छ । बेला–बेलामा पाल्पा–बुटवल सडकको सिद्धबाबा क्षेत्रमा पहिरो खसेर समस्या भइरहेको छ ।

सडकमाथिबाट चट्टानसहितको पहिरो खसेर वर्षायाम मात्र नभई अन्य समय पनि यात्रा गर्ने यात्रु तथा सवारीसाधनले सास्ती भोग्नुपरिरहेको छ ।