मध्यभोटेकाेसी निर्माण अन्तिम चरणमा, सबस्टेसन बनिनसक्दा बिजुली खेर जाने चिन्ता

मध्यभोटेकाेसी निर्माण अन्तिम चरणमा, सबस्टेसन बनिनसक्दा बिजुली खेर जाने चिन्ता


काठमाडौँ ।

नेपाल विद्युत प्राधिकरण सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्नु पर्ने दबाबमा परेको छ ।

चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकाेसी जलविद्युतकाे निर्माण अन्तिम चरणमा पुगेपछि आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणलाई दबाब परेको छ ।

मध्यभाेटेकाेसीको निर्माण २ महिनाभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणकाे काम भइरहेकाे छ । मध्यभोटेकाेसीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युत गृहबाट बाह्रबिसे सबस्टेसनसम्मको प्रसारण लाइनका टावरहरू निर्माण गरिसकेको छ भने तार तान्ने काम भइरहेको छ ।

बाह्रबिसे सबस्टेसन निर्माणको ठेक्का पाएका चिनिया कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एन्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ ।

प्राधिकरणले कार्यसम्पादनमा सुधार्न पटक पटक दिएको निर्देशन निर्माण व्यवयासीले पालना नगर्दा सबस्टेसन निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ । प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न नभएर मध्यभोटेकाेसीको विद्युत् जोड्न नसकिएमा त्यसको क्षतिपूर्ति निर्माण व्यवसायीबाट भराउने चेतावनी दिँदै आएको छ ।

कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यववस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले शनिवार सबस्टेसन निर्माणस्थलको अनुगमन भ्रमण गरेको छ ।

टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिकालगायत विषयमा छलफल गरेको थियो ।

कार्यकारी निर्देशक घिसिङले गत फागुनपछि निर्माण व्यवसायीले आफ्नो कार्यसम्पादनमा केही सुधार गरेको देखिएको बताए । श्रमिकको संख्या थप गरी निर्माणमा तीव्रता दिन निर्देशन दिँदै घिसिङले निर्माण प्रगतिको जानकारी लिन आफूले साप्ताहिक रूपमा सबस्टेसन स्थल आएर नियमित अनुगमन  गर्ने बताए ।

‘पावर ट्रान्सफर्मरलगायत सबस्टेसन राखिने उपकरणहरू निर्माण स्थलमा आइसकेका छन् । निर्माणमा ढिलाइ गर्नुपर्ने कुनै कारण नै छैन, निर्माणमा हाम्रोतर्फबाट सहजीकरण गर्न तयार छौँ । ३ महिनाभित्रमा जसरी पनि निर्माण सम्पन्न गर्नुपर्छ नत्र मध्यभोटेकाेसीको विद्युत् खेर फाल्नुपर्ने पीडादायी अवस्था आउन सक्छ । त्यसैले यसलाई ध्यान दिएर सबैले काम गरौँ,’ उनले भने ।

कम्पनीले सबस्टेसनमा रहने पावर ट्रान्सफर्मरलगायत उपकरण ल्याइसकेको छ भने ट्रान्सफर्मर रहने स्थान, नियन्त्रण कक्ष भवन निर्माणाधीन छन् । सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी,५ एमभीएका पावर ट्रान्सफर्मरहरू रहनेछन् । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ ।

प्राधिकरणले मध्यभोटेकाेसीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ । तर, त्यसका लागि पनि बाह्रबिसे सबस्टेसनको निर्माण अनिवार्य छ ।

२२ मेगावाटको माथिल्लो चाकू ए जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी  शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिंगल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ । शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनुपर्ने उक्त लाइनको कामसमेत सुरु हुन सकेको छैन ।

करिब १० किलोमिटर लाइनमध्ये ७ किलोमिटर तार तान्नुपर्नेछ भने बाह्रबिसे बजार नजिकबाट सबस्टेसनसम्म करिब ३ किलोमिटर ४ सर्किट (मल्टी सर्किट) प्रसारण लाइन बनाउनु पर्नेछ ।

तर, कम्पनीले अहिलेसम्म उक्त काम सुरु नै गरेको छैन । प्राधिकरणको उच्चस्तरीय टोलीले निर्माण काम तत्काल सुरु गर्न कम्पनीलाई आग्रह गरेको छ । प्राधिकरणले लामोसाँघु सबस्टेसनमा वे विस्तारको काम गरिरहेको छ ।

तामाकाेसी तथा सुनकाेसी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकाेसी–काठमाडौँ प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । एसियाली विकास बैकको सहुलितपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको छ ।

तामाकाेसी–काठमाडौँ २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४४ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ ।

त्यस्तै बाह्रबिसेबाट काठमाडौँको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन पनि निर्माणाधीन छन् ।

लप्सीफेदीमा ४००/२२० र १३२/११ केभी सबस्टेसन स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण प्रभावित भएको छ ।