आलु किन्न बारीमै आइपुग्छन् व्यापारी [फोटो फिचरसहित]

आलु किन्न बारीमै आइपुग्छन् व्यापारी [फोटो फिचरसहित]


रामेछाप ।

बजारमा रुचाइएको रामेछापको उच्च हिमाली क्षेत्र शैलुङको आलु लिन अहिले व्यवसायीहरू ट्रक लिएर बारीमै पुग्न थालेका छन् ।

शैलुङको आलुको माग बढ्न थालेपछि व्यवसायी आलु लिन किसानको बारीमा नै पुगेका हुन् ।

शैलुङका किसानले उत्पादन गरेको आलु बजारमा पठाएका छन् । रामेछापको दोरम्बा गाउँपालिकाको दोरम्बा, डडुवा, गौश्वारालगायत शैलुङ आसपासमा लगाएको आलु असार १५ देखि नै किसानले खन्न थालेका हुन् ।

किसानले बारीमा लगाएको आलु लगभग खनिसकेको र खनेको आलु बजारमा पठाउन सुरु गरेको स्थानीय अगुवा कृषक दावासंबु शेर्पाले बताए । अहिले आलु खरिदका लागि व्यवसायीहरू किसानको बारीमै ट्रक लिएर पुग्ने गरेको उनको भनाइ छ ।

शैलुङ क्षेत्रमा वार्षिक झन्डै १ करोड मेट्रिक टन आलु उत्पादन हुन्छ । शैलुङमा उत्पादित आलु काठमाडौँलगायत सहर र तराईका जिल्लामा समेत पुग्छ ।

यहाँ उत्पादित आलु पोसिलो र स्वादिलो हुने भएकाले बजारमा उच्च माग रहेको आलु व्यवसायी बताउँछन् ।

विगतमा यातायातका साधन नहुँदा शैलुङका किसानले आलु बेच्न डोकोमा नै बोकेर सिन्धुपाल्चोकको मुढे बजारसम्म पुर्‍याउँथे । त्यसैले शैलुङको आलु पनि मुढेको आलुको नामले बजारमा बिक्री हुन्थ्यो । अहिले व्यापारीहरू शैलुङसम्मै पुगेर आलु खरिद गर्न थालेपछि काठमाडौँको बजारमा शैलुङकै आलुका नाममा बिक्री हुन लागेको शेर्पाको भनाइ छ ।

शैलुङमा परम्परागत रुपमा गरिँदै आएको आलु खेती अहिले थप व्यावसायिक बनेको छ । ४५ वर्षदेखि शैलुङमा लगाइँदै आएको आलुको बिउ परिवर्तन भएको छ ।

बिउ आलु स्रोत केन्द्र स्थापना गरी नयाँ ल्याबमा टिस्यू कल्चर प्रविधिबाट तयार भएका इनभिट्रो प्लान्टबाट नयाँ पिबिएस दाना उत्पादन गरी रोजिटा जातको नयाँ पुस्ताको आलु बिउ शैलुङमा नै उत्पादन गरी किसानलाई उपलब्ध गराइएको छ । जसले गर्दा आलु उत्पादनमा वृद्धि भएको छ ।

मसला बाली विकास केन्द्र पाँचखाल तथा कृषि ज्ञान केन्द्र रामेछापको सहयोगमा आलु बिउ उत्पादनको संरचना तयार भएको हो । आलु बाली विकास केन्द्र निगाले (सिन्धुपाल्चोक)ले पिबिएस इन-भिट्रो प्लान्ट्ससहितको प्राविधिक सहयोग गरेको छ ।