मध्यबर्खामा मधेसमा खानेपानीकाे हाहाकार

मध्यबर्खामा मधेसमा खानेपानीकाे हाहाकार

पहिले ३० फिट खन्दा पानी भेटिने ठाउँमा अहिले १०० फिटमा पनि भेटिँदैन


महोत्तरी ।

मधेसमा खडेरीसँगै पिउने पानीको समस्या विकराल बन्दै गएको छ । पानीका लागि प्रयाेग भइरहेका कतिपय कल, ट्युबवेल र इनार सुकेका छन् भने पानीका मुहानसमेत सुकेका छन् । जसको असर दैनिक जीवनमा परिरहेको छ ।

विशेष गरी  पर्साको वीरगन्ज, धनुषा, महोत्तरीलगायत मधेस प्रदेशका विभिन्न स्थानमा खानेपानीको हाहाकार सिर्जना भएको छ ।

साउनको तेस्रो साता बित्नै लाग्दासम्म राम्रोसँग वर्षा नहुँदा मुख्य बाली धान लगाउन नपाएपछि महोत्तरीको मटिहानी नगर कार्यपालिकाले आफ्नो नगर क्षेत्रलाई सुख्खाक्षेत्र घोषणा गर्न नेपाल सरकारसँग माग गरेको छ ।

केही दिनअघि बसेको नगर कार्यपालिकाको पूर्ण बैठकले नगर क्षेत्रलाई सुख्खाक्षेत्र घोषणा गरी तत्काल किसानलाई राहत उपलब्ध गराउन माग गरेको हो  । खडेरी परेसँगै मधेस प्रदेशबासी पानीको चरम समस्या झेल्नुपर्ने अवस्थामा पुगेपछि जलवायु विज्ञ छलफलमा जुट्न थालेका छन् ।

शनिबार मधेस प्रदेश सरकारका अर्थ र जल तथा सिँचाइ मन्त्रालयमा जलवायु परिवर्तनका कारण उत्पन्न हुँदै गएको संकटको विषयमा गम्भीर छलफल भएको जलवायुविज्ञ नागदेव यादवले बताए । छलफलमा थप समस्या आउन नदिन तत्कालीन र दीर्घकालीन उपायबारे कुराकानी गरिएको यादवले जानकारी दिए ।

‘दीर्घकालीन सावधानका लागि चुरेको पानी चुरेमा नै होल्ड गर्ने र पोखरी बनाएर यसको रिचार्ज गर्नुपर्ने विषयमा हामीले सुझाव दियौँ,’ उनले भने, ‘उहाँहरूले  हाम्रो सुझावलाई गम्भीर रूपमा लिनुभएको छ ।’

पहिले ३० फिट खन्दा पनि पानी भेटिने ठाउँमा अहिले सय फिट खन्दा पनि पानी भेटिएको छैन । पानीको अभावले किसान र गरिब परिवार मर्कामा परेका छन् ।

नियमित तरकारी बाली तथा नियमित कृषिमा नै फेरबदल देखापरेपछि किसानहरू अनुकूल उपायको खोजीमा छन् । ‘पहिले नियमित लगाउने बालीहरू हुन छाडेको छ । सिँचाइको समस्या बढिरहेको छ,’ महोत्तरीका स्थानीय रामान्दन यादवले भने ।