लेखा समितिकाे बैठक लाइभ गर्ने निर्णय

लेखा समितिकाे बैठक लाइभ गर्ने निर्णय

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्न सरकारकाे ध्यानाकर्षण


काठमाडौँ ।

संसद्को सार्वजनिक लेखा समितिले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमार्फत् १ क्विन्टलभन्दा बढी तस्करीको सुन भित्रिएको विषयमा निष्पक्ष छानबिनका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार बसेको समितिको बैठकमा विभिन्न दलका सांसदहरूले सुन तस्करीको विषयमा छानबिन समिति बनाउन माग गरेपछि समिति सभापति रहेका जेष्ठ सदस्य अर्जुन नर्सिङ केसीले छानबिन समिति गठनका लागि ध्यानाकर्षण गराउने बताए ।

बैठकमा एमाले सांसद योगेश भट्टराईले समितिमा सुन तस्करी प्रकरणमा छानबिन समिति गठनको विषय उठाएपछि अधिकांश सांसदहरूले सहमति जनाउँदै छानबिन समिति बनाउन माग गरेका थिए ।

यसैबीच, सार्वजनिक लेखा समितिले आफ्नो बैठक प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेकाे छ ।  आइतबार बसेको समितिकाे बैठकले प्रत्यक्ष प्रसारणसहितका प्रावधान राखेर आन्तरिक कार्यविधि पारित गरेकाे हाे ।

समितिकाे अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रत्यक्ष प्रसारणले जिम्मेवार प्राप्त अधिकारीकाे जबाफदेही देखिने बताए ।

संवेदनशील विषयमा गाेप्य बैठक गर्न सकिने र अरु बेला प्रत्यक्ष प्रसारण गर्दा जनप्रतिनिधिकाे कार्यसम्पादन जनताले थाहा पाउने उनले बताए ।