बाग्मतीमा लम्पी स्किन : काभ्रेमा धेरै क्षति, ललितपुरमा कम

बाग्मतीमा लम्पी स्किन : काभ्रेमा धेरै क्षति, ललितपुरमा कम


हेटौँडा ।

बाग्मती प्रदेशमा ‘लम्पी स्किन’ रोगबाट १ लाखभन्दा बढी पशुचौपाया संक्रमित भएका छन् । लम्पी स्किनको संक्रमणका कारण ४ हजार ६१८ पशु मरेका प्रदेशस्थित पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ।

निर्देशनालयका अनुसार ८ महिनामा १३ जिल्लाका १ लाख ५३ हजार ९०५ पशु संक्रमित भएका छन्।

निर्देशनालयकी अधिकृत डा‍. सविना मिश्रले गत पुसदेखि यही साउन ८ सम्म प्रदेशमा १ लाख ५३ हजार पशुचौपाया संक्रमित भएकाे जानकारी दिइन् । उनका अनुसार सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ६८१ र सबैभन्दा कम ललितपुरमा ८९ पशु मरेका छन् ।

सिन्धुलीमा ६५०, धादिङमा ५१३, मकवानपुरमा ४४६, नुवाकोटमा ४११, सिन्धुपाल्चोकमा ३६०, काठमाडौंमा ३५७, भक्तपुरमा २९३, चितवनमा २४२, रामेछापमा २२९, दोलखामा १७४ र रसुवामा १७३ पशुचौपायाको मृत्यु भएको डा मिश्रले जानकारी दिइन् ।

सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ३० हजार ७१४ पशुमा संक्रमण पुष्टि भएको निर्देशनालय कार्यालयले जनाएको छ।

कार्यालयको तथ्यांक अनुसार सिन्धुलीमा २४ हजार ९०, धादिङमा १६ हजार ४८८, नुवाकोटमा १४ हजार ५९, रामेछापमा १४ हजार ३९१, मकवानपुरमा १० हजार ९९, सिन्धुपाल्चोक १० हजार १४८, चितवनमा १० हजार ४४, दोलाखामा ७ हजार ४५६, भक्तपुरमा ६ हजार ४१३, काठमाडौँमा ५ हजार ३७, रसुवामा १ हजार ८०७ र ललितपुरमा १ हजार ४३१ पशुचौपाया लम्पी स्किन रोगबाट संक्रमित भएका छन्।

संक्रमित हुनेमा गाई १ लाख ४२ हजार ७२८, गोरु ७ हजार ४९५, भैँसी १ हजार ८६९ र बाच्छाबाच्छी १ हजार ८१३ रहेका निर्देशनालयका अधिकृत डा मिश्रले जानकारी दिइन् । उनका अनुसार गाई सबैभन्दा बढी संक्रमित भएका हुन्।

प्रदेशमा पहिलो पटक २०७९ पुसमा मकवानपुरगढी गाउँपालिकाको वडा-२, ३, ४ र ६ मा लम्पी स्किनको संक्रमण देखा परेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख डा बज्रकिशोर ठाकुरले जानकारी दिए।

उनका अनुसार माघमा सिन्धुली, चैतमा दोलखा, काभ्रेपलाञ्चोक, नुवाकोट र वैशाखमा काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, रामेछाप, चितवन, रसुवा र सिन्धुपाल्चोकमा देखा परेको थियो।

प्रदेशमा पशु चौपायामा तीव्र गतिमा लम्पी स्क्रिन रोग फैलिँदै गएपछि संक्रमणविरुद्धको भ्याक्सिन लगाउने कामलाई तीव्रता दिइएको केन्द्रका प्रमुख ठाकुरले बताए।

रोग नियन्त्रणका लागि प्रदेशभरका १ लाख १७ हजार ९०५ पशुलाई भ्याक्सिन लगाइसकिएको उनले जानकारी दिए। उनका अनुसार १ लाख १५ हजार ६९७ गाई र ५ हजार १०८ भैँसीलाई भ्याक्सिन लगाइएको छ।

लम्पी स्किन रोगको संक्रमण हुँदा गाईभैँसीमा अत्यधिक ज्वरो आउने, झोक्राउने, दानापानी नखाने, दुहुना गाईभैँसी भए दूध घट्ने, शरीरका विभिन्न भागमा गिर्खा आउने तथा पछि गिर्खा फुटेर अल्सर हुने, आँखामा कचेरा लाग्ने, नाकबाट सिँगान बग्ने, निमोनिया हुने, थुनेलो हुनेलगायत लक्षण देखिने प्रदेशस्थित भेटेरिनरी अस्पतालले जनाएको छ।