सञ्चालकले सेयर बेच्न नपाउने व्यवस्था सच्याउन माग

सञ्चालकले सेयर बेच्न नपाउने व्यवस्था सच्याउन माग


काठमाडौँ ।

सञ्चालकहरूले आफ्नो स्वामित्वमा भएको सेयर पदबाट हटेको १ वर्षसम्म बिक्री गर्न नपाउने धितोपत्र बोर्डको पछिल्लो व्यवस्थाप्रति नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री डा. प्रकाशशरण महतको ध्यानाकर्षण गराएको छ ।

सिंहदरबारमा अर्थमन्त्री डा.महतलाई आइतबार ध्यानाकर्षण पत्र बुझाउँदै चेम्बरले धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अव्यावहारिक र व्यवसायीलाई मर्कामा पार्ने खालको रहेको बताएको हो ।

चेम्बरद्धारा अर्थमन्त्री डा महतलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘धितोपत्र बोर्डबाट जारी भएको सूचीकृत एवं संगठित संस्थाहरूको संस्थागत सुशासनसम्बन्धी निर्देशिका २०७५ को दफा १४ को उपदफा ६ मा उल्लेखित ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको १ वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर खरिद बिक्री गर्न नपाउने’ व्यवस्था व्यवसाय अनुकूल छैन । ’

कुनै पनि व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्योग व्यवसायको विविधीकरण र विस्तारमा समेत असर गर्ने चेम्बरले जनाएको छ ।

चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले धितोपत्र बोर्डको पछिल्लो निर्णयले कतिपय अवस्थामा घरायसी कार्यमा समेत अवरोध आउन सक्ने भएकाले सच्याउन पहल गर्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए । बोर्डको निर्णयले व्यवसायीहरूलाई मर्कामा पार्ने अध्यक्ष मल्लको भनाइ छ ।

सञ्चालकले आफ्नो स्वामित्वमा भएको सेयरलाई पदबाट हटेको १ वर्षसम्म पनि बिक्री गर्न नपाउने व्यवस्थालाई संशोधन गरी जुनसुकै समय बिक्री गर्न पाउने व्यवस्था गर्न चेम्बरले अग्रह गरेको छ ।

बोर्डले गरेको व्यवस्था भारतलगायत अन्य कुनै पनि राष्ट्रमा प्रचलनमा नरहेको अध्यक्ष मल्लको भनाइ छ । आफूसँग भएको सेयरको कम्तीमा ५० प्रतिशत हिस्सा बिक्री गर्ने व्यवस्था मिलाउन पहल गर्न चेम्बरले अर्थमन्त्रीको ध्यानाकर्षण समेत गराएको छ ।

चेम्बरको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री डा. महतले चेम्बरले गराएको ध्यानाकर्षणप्रति आफू सकारात्मक रहेको बताए ।