१२ वर्षदेखि अलपत्र पुलमा मन्त्रीको चासो, १ वर्षमा बनाउन निर्देशन

१२ वर्षदेखि अलपत्र पुलमा मन्त्रीको चासो, १ वर्षमा बनाउन निर्देशन


काठमाडौँ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले वर्षांैदेखि अलपत्र परेको त्रियुगा नदीमाथिको पुल १ वर्षभित्र निर्माण सक्न निर्देशन दिएका छन् ।

आइतबार निर्माण व्यवसायीहरूसँगको छलफलमा उनले अलपत्र पुल १ वर्षभित्र निर्माण सक्न सडक विभागको पुल निर्माण महाशाखा र निर्माण व्यवसायीलाई निर्देशन दिएका हुन् ।

‘निर्माण थालेएको १२ वर्षसम्म नागरिकले पुलमा हिँड्न नपाउनु दुर्भाग्य हो । मन्त्रालय, स्थानीय जनप्रतिनिधि र निर्माण व्यवसायीको संयुक्त प्रयासमा यो पुलको निर्माण कार्य १ वर्षभित्र सक्नुपर्छ,’ उनले भने, ‘दीर्घरोगी योजनामाथि एक्सन थालिसकेका छौँ । कमला र जब्दीघाटको काम सुरु भइसकेको छ, त्रियुगाको १ वर्षभित्र सक्नुपर्छ ।’

अलपत्र पुलका विषयमा छलफल गर्न उदयपुरका सांसद तथा पूर्वमन्त्री नारायण खड्कासहितको टोली मन्त्रालय पुगेको थियो ।

सांसदसहितको टोलीलाई मन्त्री, कार्यवाहक सचिव अर्जुन थापा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल, निजी सचिव रामहरि शर्मासहितको छलफलमा निर्माण कम्पनीले १ वर्षभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ ।

३ वर्षभित्र काम सक्ने गरी महालक्ष्मी लोकप्रिय निर्माण कम्पनीले २०७६ सालमा काम थालेको थियो । ३ वर्षभित्र सक्ने लक्ष्य लिएको पुल ११ वर्षपछि निर्माण सम्पन्न भएको थियो ।

निर्माण सम्पन्न भई हस्तान्तरण नगरिँदै २०७८ सालमा पुलका ३ स्पान र २ पिलर भत्केका थिए ।